पोखरा । महिनावारीसम्बन्धी सचेतना अभिमुखीकरण तथा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण कार्यक्रम २०८२ भदौ ३ गते पोखरास्थित चिल्ड्रेन नेपालको सभा कक्षमा सम्पन्न भएको छ ।
बालबालिकाको क्षेत्रमा क्रियाशील सामाजिक संस्था चिल्ड्रेन नेपालद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका–७ की वडा सदस्य बसुन्धरा लामिछानेले चिल्ड्रेन नेपालको प्रयासको प्रशंसा गर्दै वडा कार्यालयबाट यस्ता कार्यक्रमहरूमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले महिलामा सुरक्षित महिनावारी अभ्यासको प्रवर्धनले दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली र सामाजिक चेतना फैलाउने विश्वास व्यक्त गर्नु भयो ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले महिलाको स्वास्थ्य र अधिकारको संरक्षणका लागि यस्ता खुला छलफल आवश्यक रहेको बताउनु भयो ।
उहाँले संस्थाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रम सहजकर्ता लिला न्यौपानेले सहभागी महिलाहरूलाई महिनावारीका बेला सरसफाई, सुरक्षित अभ्यास, स्वास्थ्य जोखिम न्यूनीकरण र सामाजिक भ्रम तोड्न आवश्यक उपायहरूबारे जानकारी गराउनु भयो ।
उहाँले पुनः प्रयोग गर्न मिल्ने कटन कपडाबाट बनेको सेनेटरी प्याडको उपयोगबारे जानकारी दिँदै, यस्तो प्याड २–३ वर्षसम्म सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्न सकिने, साथै यो वातावरणमैत्री र किफायती हुने बताउनु भयो ।
सहभागीहरूले अभिमुखीकरणबाट प्राप्त जानकारी र सामग्री आफ्नो दैनिकीमा प्रयोग गर्दै स्वस्थ, सहज र आत्मविश्वासपूर्ण जीवनशैली अँगाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले यस्तो प्याडको प्रयोगले आर्थिक बोझ घटाउने, फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने धारणा पनि राखेका थिए ।
कार्यक्रमका सह–संयोजक रमेश सुबेदीका अनुसार यो अभियानबाट ५१ जना स्थानीय महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
त्यसैगरी पोखरा महानगरपालिका-९ स्थित शिवटोल विकास संस्थाको सभा हलमा २०८२ भदौ २ गते महिनावारीसम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समुदायका १ सय ६५ जना महिला प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए ।

कार्यक्रममा सहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई सामान्य जीवनशैलीको अभिन्न अङ्गका रूपमा लिन आग्रह गर्नु भयो ।
उहाँले महिनावारीबारे अझै पनि समाजमा सङ्कोच, भ्रम र नकारात्मक सोच रहेको बताउँदै यसको समुल अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो ।
