पोखरा । पोखरा महानगरपालिका वडा नं १७ घारीपाटन स्थिति नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको गेटदेखि पोखरा होम्ससम्म बाटो खुलाउन आग्रह गरिएको छ ।
मुख्य सडकदेखि पूर्व, नेत्रज्योति सङ्घदेखि पश्चिमतर्फ रहेको सार्वजनिक जग्गालाई सार्वजनिक बाटो खुलाउन स्थानीयबासी एवम् नागरिक समाजका अगुवा रामप्रसाद सुवेदीको नेतृत्वमा स्थानीय व्यक्तिहरूले पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीलाई भेटी २०८२ साउन २७ गते निवेदनमार्फत अनुरोध गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं १७ को नक्सा सिट न. ०९३-०९९९-१७ कित्ता न.२४७ क्षेत्रफल ३ रोपनी १२ आना मालपोत कार्यालय कास्कीको च.न.२४०२ मिति २०८१ असार ५ को पत्र अनुसार कित्ताकाट भइ नयाँ कायम भएको कित्ता १२८ क्षेत्रफल १२९३.०५ वर्ग मिटर साविक बाटो नेपाल सरकार भनी फिल्ड बुकमा उल्लेख छ ।
उक्त जग्गा नेत्रज्योति सङ्घ नामक गैरसरकारी संस्थाले लगाएको पर्खालभित्र देखिन आएकोले सो जग्गामा स्थानीय १७ ओटा टोल विकास संस्था र आमा समूहको आम भेलाले हाल नेत्रज्योति सङ्घले लगाएको पर्खाल बारबन्देजलाई तत्काल हटाई आँखा अस्पताल चोक वरिपरी बाटोलाई फराकिलो र खुला बनाई सवारी प्रणालीलाई सहज बनाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएकाले पुनः स्थानीय तह पोखरा महानगरपालिका वडा नं १७ लाई आवश्यक कागजातसहित निवेदन गरिएको सुवेदीले जानकारी दिनु भयो ।

पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले ध्यानाकर्षणपत्र बुझ्दै नेत्रज्योति सङ्घले भोगचलन गरेको जग्गाका सम्बन्धमा अस्पताल व्यवस्थापन समिति र स्थानीय दुवै पक्षसँग छलफल र सम्वाद गरी प्रक्रिया अगाडि बढाइ यसको निकास निकाल्ने प्रतिबद्धता जनाउनु भयो ।
स्थानीय रामप्रसाद सुवेदीसँग हिमाल आँखा अस्पतालले तात्कालिन नगरपालिकाबाट स्वीकृति लिई भोगचलन लिएको बारे प्रश्न गर्दा भोगचलन लिए पनि नापि कार्यालयको २०८१ असार ५ गतेको निर्णयले हाल साविक गर्दा नेपाल सरकार बाटो भनि फिल्ड बुकमा जनाइएकाले विगतका सबै सम्झौता सकिएको बताउँदै बाटो खोल्नका लागि स्थानीय तहमा निवेदन दिएको उहाँको भनाइ रहेको छ ।

नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरले २०५१ सालमा तत्कालिन पोखरा नगरपालिकाका प्रमुख भोला थापा र कानुन अधिकृतको हस्ताक्षरमा उक्त जग्गा सार्वजनिक हितको लागि प्रयोग गर्ने गरी संरक्षण एवम् भोगचलनका लागि हस्तान्तरण गरिएको बताउनु भयो ।
अध्यक्ष थापामगरका अनुसार उक्त जग्गा व्यक्ति विशेषले उपभोग नगरेको नगरपालिकाको आदेशमा वृक्षारोपण र हरियाली बनाएको सार्वजनिक हितको लागि नै उपभोग भैरहेकाले बाटोको नाममा उक्त जग्गालाई टोल विकास संस्था र व्यामशाला लगायत अन्य प्रयोजनमा प्रयोग गर्न खोज्नु न्योचित नभएको बताउनु भयो ।