मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

‘कञ्चन पत्रकारिता पुरस्कार २०८२’ बाट गुरुङ र श्रेष्ठ सम्मानित

पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २६औँ स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका दुई पत्रकार कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०८२’ प्रदान गरिएको छ ।

पुरस्कार पोखराका व्यवसायी बिमलमान गुभाजू र परिवारले स्वर्गीय वेदमान गुभाजू तथा नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापना गर्नु भएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा र फोनिज कास्कीको समन्वयमा भएको कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्य, पुरस्कारदाता गुभाजू परिवार र फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङलगायतले दुवै पत्रकारलाई दोसल्ला, सम्मानपत्र र जनही नगद २५ हजार रुपियाँसहित सम्मान गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख आचार्यले फोनिजले २६ वर्षदेखि आदिवासी जनजाति पत्रकारलाई उत्प्रेरित गर्दै आएको र पत्रकारहरूले आफ्नो पेशामार्फत सकारात्मक परिवर्तनका सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले निष्पक्ष र पारदर्शी पत्रकारिताको महत्त्व औँल्याउँदै गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय स्थापना भएको र फोनिजसँग सहकार्यमा काम गर्न तयार रहेको बताउनु भयो ।

फोटो पत्रकार गुरुङले गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखरासिटी डटकममा कार्यरत रहँदै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्ह्वामा काम गरिसक्नु भएको छ ।

उहाँ नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष पनि हुनुहुन्छ । पत्रकार श्रेष्ठले दरौदी पाक्षिकबाट पत्रकारिता सुरु गरी गोरखापत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम, रेडियो पालुङ, रेडियो मुक्तिनाथ, रेडियो गोरखा, एभिन्यूज टेलिभिजन र गोरखा समाचार दैनिकमा काम गरिसक्नु भएको छ । अहिले उहाँ गोरखा समाचार डटकमसँग आबद्ध हुनुहुन्छ ।

सोही कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।

वि.सं. २०७७ सालमा स्थापना भएको यो पुरस्कारबाट यसअघि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसक्नु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकीका उपाध्यक्ष खीम छन्त्याललगायतको उपस्थिति थियो ।

फोनिज गण्डकीले २५ देखि २७ साउनसम्म तीन दिने कार्यक्रममार्फत स्थापना दिवस मनाएको थियो, जसमा सम्वाद कार्यक्रम, पत्रकारबिच मैत्रीपूर्ण खेलकुद र मूल समारोह सञ्चालन गरिएको महासचिव सुरज थापामगरले बताउनु भयो ।

Author

Related News