मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कानुनको पालना नगर्नेलाई कारवाही:मन्त्री पाठक

पोखरा ।  गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले कानुन बमोजिम काम नगर्ने स्वास्थ्य संघ संस्थाहरूलाई कारवाहीको दायरामा ल्याई कार्वाही गरिने बताउनु भएको छ ।  

निजी अस्पताल व्यावसायिहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) ले पोखरामा २०८२ साउन २३ गते  आयोजना गरेको प्रदेश स्तरीय निजी अस्पतालहरूका समस्या र समाधान विषयक अन्तरसम्वाद कार्यक्रममा मन्त्री पाठकले यस्तो भनाइ राख्नु भएको हो । 

निजी अस्पताल सञ्चालकहरूले अस्पताल दर्ता, नविकरण, फोहोरमैला व्यवस्थापन र अस्पतालमा सञ्चालन गरिने फार्मेसीहरूमा सरकारले सहजीकरण नगरेर उल्टै व्यवसायीहरूलाई विभिन्न कानुनी झन्झट देखाएर दुःख दिने गरेको गुनासो राखेका थिए ।

व्यवसायीहरूका समस्य र  गुनासाहरू सुनिसकेपछि स्वास्थमन्त्री पाठकले कानुन बमोजिम काम गर्ने व्यवसायीहरूलाई सरकारले सहयोग गर्ने र व्यवसायीहरुको हितमा अधिकतम लचिलो हुने तर नियम कानुन  नमान्ने तथा सरकारलाई उल्टै  धम्क्याउने व्यवसायीहरूलाई कारवाही गर्ने बताउनु भयो  ।

निजी अस्पताल सञ्चालकहरूले सेवा शुल्कमा एकरूपता नगरेको, बिरामीहरूलाई चाहिने भन्दा बढी औषधी दिलाउने गरेको, नियमनकारी निकायहरूलाई नियमित प्रतिवेदन नबुझाएको, अस्पताल सञ्चालनको निमित्त निर्धारण गरिएका मापदण्डहरू पालना नगरेको, बिमित बिरामीहरूलाई उचित सुनुवाइ  नगरेको विषयमा अफिन र व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

मन्त्री पाठकले सरकार निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको तर निजी क्षेत्रले पनि नियम कानुन र सरकारी प्रक्रियामा सहयोग गर्नुपर्ने बताउँदै यदी कहिँकतै नियम कानुन र रितपुर्वक आएका फाइलहरुलाई अगाडि बढाउन कुनै अधिकारीले आनाकानी गरेमा आफुलाई जानकारी गराउन व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।

ढिलासुस्ती गर्ने र रित पुगेका कामहरुलाई सम्पादन गर्न आनाकानी गर्ने अधिकारीगरूलाई तत्काल कारवाही गरिने समेत उहाँले  बताउनु भयो  ।

कार्यक्रममा अफिनका केन्द्रीय उपाध्यक्ष हरी खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, प्रा.डा. बुद्धिबहादुर थापालगायतका व्यवसायीहरूले छलफलमा सक्रिय सहभागिता  जनाउनु भएको थियो ।

अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले अफिनले गण्डकी प्रदेश भित्र २५, ५० र १०० शैयाका अस्पतालहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिनु भयो । 

Author

Related News