मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

‘वडालाई समुन्नत बनाउने जिम्मेवारी वडावासीकै’

पोखरा “हाम्रो वडा राम्रो वडा, समुन्नत नागरिक बस्ने वडा, सबै नागरिकले गर्व गर्ने वडा” भन्ने नारासहित पोखरा महानगरपालिका वडा नं. १५ ले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न सेवा, सुविधा र विकास निर्माण कार्यबारे सार्वजनिक सुनुवाइ गरेको छ ।

बाराही सञ्चार प्रालिको समन्वयमा भएको यो कार्यक्रम वडावासीको सहभागिता र जिम्मेवारीबोध बढाउन आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वडालाई आवश्यक अधिकार र बजेट प्रत्यायोजन गरिएको उल्लेख गर्दै वडावासीको सक्रिय सहभागिताविना समुन्नति सम्भव नरहेको बताउनु भयो । उहाँले सेवा प्रवाहलाई जनमैत्री र पहुँचयोग्य बनाउन महानगर कटिबद्ध रहेको स्पष्ट पार्नु भयो ।

वडाध्यक्ष तोरणबहादुर बाँनियाले तीन वर्षको समीक्षा गर्दै चौथो वर्षसम्ममा नागरिकको भावना अनुरूप सेवा प्रवाहमा सुधार भएको बताउनु भयो ।

उहाँले समस्या र सुझाव केवल सार्वजनिक सुनुवाइमा मात्र नभई नियमित रूपमा वडा कार्यालयमा आएर राख्न अनुरोधसमेत गर्नु भयो ।

उहाँका अनुसार वडामा एक शहरी स्वास्थ्य केन्द्र, एक सिद्ध माध्यमिक विद्यालय, ४४ टोल सुधार समिति छन् ।

यिनीहरूमा आवश्यक पूर्वाधार सहयोग गर्दै आएको र वडा सदस्यहरूबिच कार्यविभाजन गरी सेवा प्रदान भइरहेको उहाँले जानकारी दिनु भयो ।

बाँनियाले झण्डै २५ हजार स्थायी बासिन्दा र ५५–६० हजार घरधुरीलाई सेवा दिन पाँच जना जनप्रतिनिधि र ११ जना कर्मचारी अपर्याप्त हुने हुँदा सबै वडावासीको रचनात्मक सहकार्य अपरिहार्य भएको बताउनु भयो ।

कार्यक्रममा सेवाग्राही बुद्धिबहादुर पुर्जा, कमलबहादुर बाँनिया, हरीबहादुर खत्री, टेकबहादुर पुन, पुष्पराज बाँस्तोला, शिव बाँनिया र मीना भण्डारीलगायतले बजेटको सही सदुपयोग, टोल विकास संस्थासँग समन्वय, कौसी खेतीको व्यवस्थापन, सडक र नहर सुधार, अपांगमैत्री पूर्वाधार, युवा लक्षित कार्यक्रम, नि:शुल्क फोटोकपी सेवा, सोलार बत्ती, खानेपानी वितरण तथा फोहोर व्यवस्थापनमा सुधार गर्न सुझाव राख्नु भएको थियो ।

त्यस्तै, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता कायम राखी अव्यवस्थित र पछाडि पारिएका समुदायका बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा पनि उहाँहरूले जोड दिनु भयो ।

सेवाग्राहीका जिज्ञासामा वडा सदस्य मन्दिरा परियार, सेतीमाया गुरुङ, बलराम पौडेल, आशिष भण्डारी र वडा सचिव युवराज पौडेलले जवाफ दिनु भएको थियो । कार्यक्रमको सहजीकरण उमा आलेले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, टोल विकास संस्था, उपभोक्ता समिति, आमा समूह, युवा क्लब, बाल मञ्च, कृषि तथा अपाङ्गता सञ्जाल, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख सम्झना थापाका अनुसार कार्यक्रमसँगै गरिएको सुगर र प्रेसर जाँच सेवाबाट १ सय ८२ जना (महिला १ सय १ र पुरुष ८१ जना) लाभान्वित भए।

Author

Related News