मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

पोखरामा ६० औँ रक्तसञ्चार सेवा दिवस मनाइयो

पोखरा । मानवताका पक्षमा भन्ने  मुल नारासहित नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा कास्कीको आयोजनामा ६० औँ रक्तसञ्चार सेवा दिवस २०८२ साउन १२ गते पोखरामा मनाइएको छ ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडक्रसले मुख्यतया विपत् व्यवस्थापन, प्राकृतिक प्रकोपमा परेकाको उद्वार, विभिन्न प्रकारका महामारीको बेला  मानवीय उद्वार, आधारभूत स्वास्थ सेवा लगायतका क्षेत्रहरूमा काम गर्दै आएको बताउनु भयो  । 

मन्त्री पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागि परेको उल्लेख गर्दै आर्थिक वर्ष २०८२/२०८३  को बजेटमार्फत आधारभूत तहका नागरिकहरूलाई प्रत्येक्ष रूपमा सेवामा पुग्ने खालका कार्यक्रमहरू तय गरिएको जानकारी दिनु भयो ।  

उहाँले गण्डकी प्रदेशको स्वास्थ क्षेत्रलाई सुदृढीकरण गर्न प्रदेश मातहतका दुई आयुर्वेदसहित १३ ओटा अस्पतालको स्तरोन्नति गरिएको र अस्पतालहरूमा आर्थिक सुशासन कायम गर्न अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधि २०८२ निमार्ण गरी कार्यान्वयनमा लगिएको पनि बताउनु भयो ।

स्वास्थ्यमन्त्री पाठकले गण्डकी प्रदेश भित्र स्वास्थ्य क्षेत्रमा चाहिने जनशक्ति आफ्नै प्रदेशमा उत्पादन गर्ने हिसाबले सरकार अगाडि बढेको र यसको निमित चालु आर्थिक वर्षदेखि नै धौलागिरी  प्रादेशिक अस्पताल बागलुङ र आँपपिपल अस्पताल गोरखामा पिसिएल नर्सिङ तथा ल्याव टेक्निसियनका प्राविधिक कक्षाहरू सञ्चालन गर्नुको साथै आगामी आर्थिक वर्षमा समेत प्रदेशका अन्य अस्पतालहरूमा प्राविधिक शिक्षाका कक्षाहरू क्रमिक ढङ्गले सञ्चालन गरिने योजना रहेको बताउनु भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने सामाजिक संस्था रेडक्रस भएको बताउनु भयो ।

नागरिक मञ्च गण्डकीका संयोजक बिष्णुप्रसाद बरालले रेडक्रसका  सात आधारभूत सिद्धान्तको पूर्णरूपमा पालना गर्नु नै सच्चा मानवीय कार्य हुने बताउनु भयो ।

रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति एवम् स्वास्थ्य समितिका संय‍ोजक दण्डराज शर्मा पौडेलले कास्की जिल्लामा वार्षिक ४५ हजार युनिट रगत आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दिपेन्द्र मर्शानी, टङ्कमान नापित, नेपाल रेडक्रस सोसाइटीका निर्वतमान केन्द्रीय उप-कोषाध्यक्ष डोलराज पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा रक्त सञ्चारको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न सामाजिक सङ्घ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।  

सम्मानित हुने चार जना व्यक्ति र १५ वटा सङ्घसंस्थाहरुलाई  स्वास्थमन्त्री पाठकले औपचारिक कार्यक्रमका बिच सम्मान गर्नु भयो ।

यसरी सम्मानित हुने व्यक्तिहरुमा टङ्कमान नापित,  गोकर्ण कार्की, सीता गुरुङ र  निर्मल श्रेष्ठ रहनु भएको छ ।

सङ्घसंस्थाहरूमा मानवसेवा फाउन्डेशन नेपाल, लाइन्स क्लब अफ पोखरा कोरिया रिर्टन, फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिलभर डिर्लर ऐशोसिएसन, गरिमा विकास बैङ्क लि.,  मुक्तिनाथ विकास बैङ्क लि., टिम पोखरा मल्टीप्रपोज प्रा.लि., लाइन्स क्लब अफ पोखरा, आदर्श चौतारी पोखर, लाइन्स क्लब अफ भिमाद ग्रिन सिटी पोखरा,  बुद्धटोल युवा क्लब पोखरा, हिमालय क्लब पोखरा १६, बाटुलेचौर, कैलाश बचत तथा ऋण सहकारी संस्था, मनीप्लान्ट बचत तथा ऋण सहकारी संस्था, शान्ति दीप अभियान,  आकस्मिक रक्तदान यूनिट हरिश्चन्द्र शर्मा, स्वयम् सेवी रक्तदाता समाज दिपेन्द्र अधिकारी, नेरेसो, पोखरा ६ उपशाखा रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिका संयोजक सुर्यप्रसाद ढकालले “रगत जीवन हो” अभियान जीवन बचाउने संवेदनशील र पवित्र कार्य भएको उल्लेख गर्दै, हाम्रो एक थोपा रगतले पनि कसैको जीवन बचाउन सक्ने भएकाले यसबारे चेतना अभिवृद्धि गर्नु पर्नेमा जोड दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काक‍ो अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रसका मन्त्री सन्तोष अधिकारीले गर्नु भएको थियो ।

Author

Share the News

Recent News

Related News