मधु पन्थी, पोखरा ।
नेल्सन मिडिया प्रालीको समन्वयमा पोखरा महानगरपालिका वडा ७ कार्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आर्थिक वर्ष २०८१ /०८२ मा वडाबाट सम्पादन गरेका कार्यक्रम, वडावासी नागरिकलाई प्रवाह हुने सेवा, सुविधा र विकास निर्माण कार्य सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम २०८२ असार २० गते आयोजना गर्यो ।
कार्यक्रममा सरोकारवाला निकाय स्थानीय जनप्रतिनिधिलाई र सेवाग्राहीको तर्फबाट नागरिक अभियान्ता रामबहादुर पौडेल, समाजसेवी लोकनाथ काफ्ले, रूद्रबहादुर थापा, बविता सुवेदी, रविना पराजुली र शोभाकान्त बराल लगायतले टोल विकास संस्थाको समन्वयमा विकास निर्माणका काममा समावेश गरिनु पर्ने, युवा लक्षित कार्यक्रम संचालन गर्नुपर्ने, खानेपानी र फोहरको सहि व्यवस्था हुनु पर्ने, हामी हाम्रो काममा जवाफदेही, पारदर्शीता र उत्तरदायी हुनुपर्ने एवम् पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
वडाध्यक्ष राममोहन आचार्यले योजना बैङ्कको अवधारणा बनाइ कार्य सम्पादन गर्दै आएको, पहिलो, दोस्रो, तेस्रो हुँदै चौथो वर्ष सम्म आइपुग्दा धेरै बुझ्ने र सुधारका काम गरेको बताउनु भयो ।
उहाँले सुझाव र खबरदारी सार्वजनिक सुनुवाइको दिनमा मात्र दिने प्रचलनको अन्त्य गरी ३ सय ६५ दिननै दिन अनुरोध गर्नु भयो ।
वडामा एउटा मात्र विद्यालय रहेकाले आवश्यक पूर्वाधारहरू सहयोग गर्दै आएको, वडा सदस्यहरूको कार्य विभाजन गरि काम गर्दै आएको, आगामी दिनमा वडालाई रचनात्मक राय, सुझाव दिन वडावासीलाई आग्रह गर्नु भयो ।
आचार्यले हाम्रो वडालाई राम्रो वडा बनाउन पाँच जना प्रतिनिधिले सम्भव नभएकोले सबैको रचनात्मक सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
सेवाग्राहीको तर्फबाट राखिएका जिज्ञासा, गुनासा र प्रश्नहरूको वडा सदस्यहरू अर्जुनबहादुर भुजेल थापा, बसुन्धरा लामिछाने, सुनिता सुनार, विष्णुमणी बराल र वडा सचिव राजेन्द्र पौडेलले सहजिकरण र प्रश्नको जबाफ दिनु भएको थियो ।
सेवाग्राहीहरूले वडालाई आफ्ना गुनासा तथा प्रश्न र रचनात्मक सुझाव दिँदै आफ्नो र भन्न सुनको आधारमा योजना छनोटको अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।