ललितपुर । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, सुशासन तथा सार्वजनिक उत्तरदायित्वका सवाललाई उठान गरिएको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ २०८३ मङ्सिर ११ गते विमोचन गरिने कार्यक्रम रहेको छ ।
समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को व्यानरमा हुने पुस्तक विमोचन र लोकतन्त्रबारे बहस कार्यक्रम मङ्सिर ११ गते जनभावना क्याम्पस चापागाउँमा दिउँसो साढे १ बजेलाई तय गरिएको मास नेपालले जनाएको छ ।
३० वर्षदेखि मानवअधिकार पत्रकारितामा क्रियाशील मानव आवाज अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले लेख्नुभएको पुस्तकमा नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, राज्यको जबाफदेहिता, सुशासन, मानवअधिकार तथा लोकतन्त्रका उपलब्धि र चुनौतीसँग सम्बन्धित ३२ लेख समेटिएका छन् ।
रेडियो सगरमाथा, राष्ट्रिय समाचार समिति, इन्सेकलगायत प्रतिष्ठित संस्थामा रही पत्रकारिता गर्नुभएका तिमल्सिनाले मानवअधिकार विधालाई मुख्य विधा बनाउँदै आउनुभएको छ ।
नेपालमा लोकतन्त्र प्राप्तिपछि नागरिकले अपेक्षा गरेका अधिकार, राजनीतिक तथा संस्थागत अभ्यास, सार्वजनिक निकायको उत्तरदायित्व र लोकतान्त्रिक मूल्यमा देखिएका सवाललाई विभिन्न लेखकका लेखमार्फत पुस्तकमा विमर्श गरिएको छ ।
पुस्तकले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था वा निर्वाचनमा सीमित नगरी नागरिकको जीवन, अधिकार, स्वतन्त्रता, न्याय र राज्यप्रतिको जबाफदेहितासँग जोडेर बहस गर्ने प्रयास गरेको छ ।
लोकतान्त्रिक उपलब्धिको संरक्षण, संस्थागत विकास र नागरिक सचेतनाका विषयलाई लेखहरूले विभिन्न कोणबाट उठाएका छन् ।
पुस्तकमा विभिन्न समयमा लेखिएका लेख समेटिएका छन् । लोकतन्त्रको अभ्यासमा देखिएका कमजोरी, नागरिक अधिकारको अवस्था, सार्वजनिक जिम्मेवारी र शासन प्रणालीमा सुधारको आवश्यकताबारे पुस्तकले पाठकलाई विमर्शका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
विभिन्न पाँच खण्डमा विभाजन गरी ३० ओटा लेख यो पुस्तकमा समेटिएको छ । पुस्तकको पहिलो खण्डमा लोकतन्त्र, गणतन्त्र र राजनीतिक प्रणाली, दोस्रो खण्डमा नागरिक अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक सहभागिता, तेस्रो खण्डमा मानवअधिकार र सामाजिक न्याय, चौथो खण्डमा राज्य, सङ्घीयता र सार्वजनिक जबाफदेहिता तथा पाँचौँ खण्डमा द्वन्द्व, शान्ति र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित लेखहरू रहेका छन् ।
मङ्सिर ११ गते विमोचन कार्यक्रममार्फत पुस्तक सार्वजनिक गरिने र लोकतन्त्रबारे विमर्शसमेत गरिने पुस्तक प्रकाशन संस्था मास नेपालले जनाएको छ ।