मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

प्रधानमन्त्रीद्वारा संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन (के छ सम्बोधनमा ?)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल दुवै देशका किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताउनुभएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

सम्बोधनको पूर्ण पाठ

भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, आदरणीय मित्रहरू सबैमा नमस्कार।

भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र भारतीय जनताप्रति बोकेर म यहाँ आएको छु। यस गरिमामय निमन्त्रणा र न्यानो आतिथ्यका लागि म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु।

आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारशिला हुन्। यो अतुलनीय सम्बन्धको केन्द्रमा हाम्रा दुवै देशका जनता रहेका छन्। नेपाल र भारतबिचको सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ। यो यति गहिरो आत्मीयता हो, जसलाई शब्दले मात्र व्यक्त गर्न सकिँदैन।

एक भरपर्दो र विश्वसनीय छिमेकीका रूपमा भारत प्राकृतिक विपद् र कठिन घडीहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग गर्न उभिएको छ। यसका लागि म भारत सरकार र भारतीय जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।

भर्खरै हामीले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिक बनाउने लक्ष्यका साथ आ–आफ्ना प्रतिनिधिमण्डल स्तरको वार्ता सम्पन्न गरेका छौँ, जसमा हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा स्पष्ट, सारगर्भित र अग्रगामी छलफल भएको छ। यसै सन्दर्भमा प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यासका साथसाथै नेपाल–भारत सहकार्यका विविध क्षेत्रहरूमा महत्त्वपूर्ण समझदारीहरू भएका छन्।

आज हामीबिच भएका समझदारी र अघि बढाइएका परियोजनाहरूको प्रतिफल हाम्रा किसानहरूको खेतबारीमा समृद्धिका रूपमा, युवाहरूको हातमा रोजगारी र अवसरका रूपमा, विद्यार्थीहरूका सपनामा नयाँ क्षितिजका रूपमा र उद्यमीहरूका लागि नयाँ बजार, लगानी तथा व्यवसाय विस्तारका ठोस मार्गका रूपमा रूपान्तरित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।

मित्रहरू, यी ऐतिहासिक कोसेढुङ्गाहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछन् भन्नेमा म विश्वस्त छु। यो चिरस्थायी सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु आजको आवश्यकता हो।

स्वच्छ पानीको स्रोतका रूपमा रहेका हाम्रा हिमालहरूले यस क्षेत्रका करोडौँ मानिसहरूको जीवन धानेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने कञ्चन नदीहरूले हामीलाई हाम्रो साझा भविष्य र नियतिको स्मरण गराउँछन्, जसले सामूहिक प्रयासबाट जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्नुपर्ने अपरिहार्यतालाई जोड दिन्छ।

भगवान् राम र माता जानकीको पावन युगदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत बन्धनमा बाँधिएका छन्। आज हामीले यस बन्धनलाई अझ जीवन्त बनाउन रेल कनेक्टिभिटीको उद्घाटन गरेका छौँ। हाम्रा पूर्वजहरूले राखिदिनुभएको बलियो ऐतिहासिक जगमा टेकेर आज इतिहासले हामीलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युवा पुस्ताका लागि अवसरका ढोका खोल्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी सुम्पिएको छ।

मित्रहरू, यस अवसरमा म भारतीय लगानीकर्ताहरूलाई हाम्रा दुवै देशको आर्थिक समृद्धिमा साझेदार बन्न नेपालमा हार्दिक स्वागत गर्दछु। आगामी दिनहरूमा हामीले नेपालमा स्थापना हुने आइआइटी (IIT) मा भारतीय विद्यार्थीहरूसमेत अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्छ र साथै हाम्रा नागरिकहरूको सुविधाका लागि दुवै देशका सहरहरूबिचको सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्छ।

साझा र समृद्ध भविष्यतर्फ हाम्रो संयुक्त कार्यलाई अगाडि बढाउन हामी हाम्रो संयुक्त दृष्टिकोण दस्ताबेज प्रस्तुत गर्नेछौँ र संयुक्त प्रेस विज्ञप्तिमार्फत हाम्रा साझा उपलब्धिलाई उजागर गर्नेछौँ।

यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली जनताका तर्फबाट म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा गर्दछु। साथै, म मित्रराष्ट्र भारतका जनतालाई हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भूमि नेपाल भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु।

नेपाल र भारतबिचको मित्रता हिमालय जत्तिकै अग्लो विश्वास, नदी जत्तिकै निरन्तर बगिरहने सहकार्य र हाम्रो साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने किसिमको रहोस्। हामी सबैको कल्याण होस् ।

धन्यवाद।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार