मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

मासमको अध्यक्षमा डा. श्रीकान्त खतिवडा सर्वसम्मत चयन

काठमाडौँ । मानवअधिकार संरक्षण मञ्च (मासम) नेपालको अध्यक्षमा प्राध्यापक डा. श्रीकान्त शर्मा खतिवडा सर्वसम्मत चयन हुनुभएको छ ।

मञ्चको नवौँ राष्ट्रिय सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि डा. खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचन संयोजक तथा अधिकारकर्मी बद्रीप्रसाद खतिवडाका अनुसार सम्मेलनबाट उपाध्यक्षमा कृष्ण गौतम, महासचिवमा धनञ्जय घनाल, सचिवमा डा. यमबहादुर विक र कोषाध्यक्षमा बिना खड्का चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा लेखनाथ सिकारु, डा. विजय दत्त, डा. कृष्ण न्यौपाने, शिवकुमार बकुरेल, डिल्लीराज जोशी, गिरधारी सुवेदी, डा. गीता खड्का, श्याम सुनार, सुजना थापा मगर र कविन्द्रकुमार केसी चयन हुनुभएको छ ।

विसं २०८३ मङ्सिर ६ गते काठमाडौँमा सम्पन्न सम्मेलनले मानवअधिकार संरक्षण, नागरिक स्वतन्त्रता, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्धनमा संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्मेलनको उद्घाटन संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश विश्वकर्माले ‘आजको परिवर्तित सन्दर्भमा मानवअधिकार आन्दोलनका समसामयिक एजेण्डाहरू’ शीर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणापत्रमा विगतको मानवअधिकार आन्दोलन नागरिक तथा राजनीतिक अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा आन्दोलनका प्राथमिकता पनि परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।

अवधारणापत्रले जातीय मुक्ति अर्थात् जात व्यवस्था र संरचनागत विभेदको अन्त्य, वर्गीय न्याय अर्थात् गरिबी, भूमिहीनता र आर्थिक असमानताको अन्त्य, लैङ्गिक न्याय, वातावरणीय तथा जलवायु न्याय र डिजिटल निगरानीसहितको लोकतान्त्रिक न्यायलाई मानव अधिकार आन्दोलनका पाँच प्रमुख एजेण्डाका रूपमा अघि सारेको छ ।

त्यस्तै, मानवअधिकार आन्दोलनलाई घटना अभिलेखीकरण, विज्ञप्ति प्रकाशन र विरोध प्रदर्शनमा मात्र सीमित नराखी राज्य, निजी क्षेत्र तथा सार्वजनिक संस्थाको जबाफदेहिता खोज्ने अभियानका रूपमा विकास गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ ।

डिजिटल अधिकार र प्रविधिजन्य विभेद नियन्त्रण गर्नुका साथै पीडितको न्यायमा पहुँच र परिपूरण सुनिश्चित गर्न पनि प्रभावकारी हस्तक्षेप आवश्यक रहेको औँल्याइएको छ ।

कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले नेपालको वर्तमान मानवअधिकार अवस्था र चुनौतीबारे विशेष प्रस्तुति दिनुभएको थियो ।

उपाध्यक्ष सावित्री जोशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महासचिव डा. श्रीकान्त खतिवडाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको बन्दसत्रमा साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । साथै आगामी कार्ययोजना तय गर्दै निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो ।

२०४१ सालमा स्थापना भएको मासमले पञ्चायतविरोधी आन्दोलन, सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकार संरक्षण तथा २०६२/६३ को जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित अघि बढेको संस्थाले नयाँ नेतृत्वसँगै समसामयिक मानव अधिकारका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार