काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप रोक्न सरकारसँग माग गरेको छ ।
महासङ्घले प्रेस स्वतन्त्रतालाई सङ्कुचित र नियन्त्रित गर्ने उद्देश्यले प्रस्ताव गरिएको प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन, सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग व्यापक छलफल गर्न तथा सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको हो ।
काभ्रेको धुलिखेलमा मङ्सिर ५ र ६ गते आयोजित सरोकारवालासँगको सम्मेलन तथा बैठकले १६ बुँदे प्रस्ताव पारित गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
महासङ्घका पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारमाध्यमका सम्पादक, नेपाल बार एसोसिएसनका पदाधिकारी तथा कानुन व्यवसायी, प्रेससँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागितामा भएको सम्मेलनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, विधिको शासन र सूचनाको हकका विषयमा छलफल गरेको थियो ।
सम्मेलनले संविधान र प्रचलित कानुनले प्रत्याभूत गरेका मौलिक तथा कानुनी हकको प्रयोग सङ्कुचित, नियन्त्रित र निर्देशित हुँदै गएको निष्कर्ष निकाल्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ । संविधानको अक्षरशः पालना गर्न र नागरिकका अधिकार सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।
प्रस्तावित प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडिया काउन्सिल विधेयक तथा आमसञ्चार विधेयकलगायतका सञ्चारसम्बन्धी कानुन निर्माण गर्नुअघि सरोकारवालासँग व्यापक छलफल, परामर्श र सहमति कायम गर्न महासङ्घले माग गरेको छ ।
त्यस्तै, प्रेस काउन्सिल, पत्रकार तथा सञ्चारमाध्यममाथि सरकारी निर्देशनका नाममा भइरहेको गैरकानुनी हस्तक्षेप, नियन्त्रण र दबाब बन्द गर्न पनि आग्रह गरेको छ ।
पत्रकारलाई समाचारको स्रोत खुलाउन बाध्य पार्ने, त्यसका लागि प्रेस काउन्सिल र प्रहरी प्रशासनमार्फत केरकार, धम्की तथा दबाब दिने कार्य रोक्नुपर्ने महासङ्घको माग छ ।
सञ्चारमाध्यमको मुख्यद्वारमा सवारी अवरोध गराउने र समाचार कक्षमा प्रहरी प्रवेश गरी समाचारको स्रोत खोज्ने घटनाको निन्दा गर्दै त्यसको छानबिन, सत्यतथ्य सार्वजनिक र दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।
समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने तथा पत्रकारका मोबाइल, ल्यापटप र क्यामेराजस्ता सञ्चार उपकरण नियन्त्रणमा लिने र तिनमा रहेका तथ्याङ्क मेटाउने वा हटाउन बाध्य पार्ने कार्य तत्काल अन्त्य गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
महासङ्घले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा तथा विज्ञापन बन्द वा सङ्कुचित गर्ने कार्यप्रति पनि विरोध जनाएको छ ।
प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमलाई सङ्घीय संरचनाबाट नियन्त्रण गर्ने प्रक्रिया अस्वीकार गर्दै प्रदेशस्तरबाटै दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन माग गरेको छ ।
त्यस्तै, गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकारलाई बिनाकारण ठूलो सङ्ख्यामा हटाइएको भन्दै हटाइएका सबै पत्रकारलाई पुनर्बहाली गर्न माग गरेको छ ।
सूचनाको हक कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय सूचना आयोगलाई लामो समय नेतृत्वविहीन राखिएकोप्रति आपत्ति जनाउँदै महासङ्घले आयोगलाई प्रभावकारी बनाउन र सूचनाको हकमा अवरोध नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्मेलनले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताको प्रत्याभूति गर्न, अदालतमाथि हुने राजनीतिक हस्तक्षेप र दबाब अन्त्य गर्न तथा संवैधानिक सर्वोच्चता कायम राख्न पनि माग गरेको छ ।
बन्दी प्रत्यक्षीकरणलगायत मौलिक हक हननसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने वा ढिलाइ गर्ने कार्य रोक्दै तत्काल सुनुवाइको व्यवस्था गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।
प्रेस काउन्सिलमा नेपाल पत्रकार महासङ्घको प्रतिनिधित्व नगराइए महासङ्घले काउन्सिलद्वारा जारी आचारसंहिता पालना गर्न बाध्य नहुने र आफैँ आचारसंहिता जारी गरेर अघि बढ्ने घोषणासमेत गरेको छ ।
यसैगरी, विभिन्न पेसाकर्मीको पेसागत स्वतन्त्रता र भयमुक्त वातावरणमा काम गर्न पाउने अधिकारको संरक्षण गर्न, निःशुल्क सूचना प्रवाह गर्दै आएका एफएम रेडियोमाथि लगाइएको दोहोरो तथा तेहोरो कर प्रणाली अन्त्य गर्न पनि महासङ्घले माग गरेको छ ।
सम्मेलनबाट पारित सबै प्रस्तावप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले समेत ऐक्यबद्धता जनाएको महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
