मानव आवाज

२०८३ मङ्सिर १० गते
00: 00: 00
२०८३ मङ्सिर १० गते

नेभ्ला गुल्मीले स्थापना दिवसमा परजीवी नियन्त्रण औषधि तथा पशु आहार वितरण

देउखुरी । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) गुल्मीले आफ्नो ३७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा एशोसिएसनले रेसुङ्गा गौशालामा आन्तरिक परजीवी नियन्त्रणका लागि औषधि तथा गाईका लागि पशु आहार वितरण गरेको छ ।

एशोसिएसनले ३६ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा २०८३ मङ्सिर ९ गते उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेभ्ला केन्द्रीय समितिका उपाध्यक्ष, लुम्बिनी प्रदेश संयोजक तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले रेसुङ्गा गौशालाका कोषाध्यक्ष रेमलाल पाण्डेलाई पशु आहार वितरण गर्नुभयो ।

पाण्डेले गौशाला लगायत कुनै पनि पशुपालक कृषक पशु उपचार तथा सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभयो। उहाँले गुल्मीलाई खोरेत रोगमुक्त जिल्ला बनाउने अभियानअन्तर्गत गौशालाबाटै खोरेतविरुद्धको खोप कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

गौशालाका कोषाध्यक्ष रेमलाल पाण्डेले गौशालामा नुनको मात्रा पर्याप्त रहेकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई नुनको सट्टा पशु आहार तथा दाना सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यालय गुल्मीका प्रमुख नवराज पण्डित, कृषि ज्ञान केन्द्रका प्रमुख विवेक पन्त, रेसुङ्गा नगरपालिका पशु शाखा प्रमुख हिक्मतसिंह महरा र सत्यवती गाउँपालिका पशु शाखा प्रमुख नारायण खनालले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेभ्ला गुल्मीका अध्यक्ष टेकबहादुर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेभ्ला केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा गुल्मीदरबार गाउँपालिकाका पशु प्राविधिक नारायण पन्थीले गर्नुभएको थियो ।

कार्यक्रममा एशोसिएसनका संस्थापक, अग्रज, कार्यसमितिका पदाधिकारी तथा सदस्य र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार