मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

पँहेलिएको तोरी, कालेश्वरबाट हिमाली दृष्य र महाङ्‌कालको पर्यटन !

मङ्सिर महिनाको पहिलो साता । तोरी फुलेका कारण दक्षिण ललितपुरका पहाड बेसार घसेर पाटापाटामा विभाजित गरेजस्ता देखिन्छन् । टुङ्गुन क्षेत्रका नाममा परिचित यो क्षेत्रको भुगोल कतै पहेँलो रङका फराकिला टुक्रा, कतै हरिया वनजङ्गल र कतै बस्तीले सजिएका डाँडाकाँडा । करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको कालेश्वर महादेव मन्दिरको प्राङ्गणबाट देखिने टुङ्गुन क्षेत्रको यो दृश्य आफैँमा एउटा सुन्दर चित्रजस्तो लाग्छ । त्यसमाथि आकाश नै छेडौँलाझैँ उभिएका सेताम्मे हिमालको लहरले दृश्यलाई थप मनमोहक बनाएको छ । कालेश्वरबाट गणेश, लाम्टाङ, लाक्पा दोर्जे, गौरिशङ्करलगायतका हिमाल देखिन्छन् । नीलो आकाशमुनि टाढा क्षितिजसम्म फैलिएको हिमशृङ्खला र अगाडि पहेँलपुर देखिएका खेतबारीको यो सङ्गमले जोकोहीको मन पुलकित बनाउँछ ।

केहीबेर अडिएर हेरिरहूँजस्तो लाग्ने यो दृश्य आँखाको आनन्द मात्र होइन, प्रकृतिले दक्षिण ललितपुरलाई दिएको अनुपम उपहार पनि हो । काठमाडौँ उपत्यकाबाट धेरै टाढा नपुगी यति सुन्दर प्राकृतिक संसारमा पुग्न सकिन्छ भन्ने अनुभूति पदयात्राका क्रममा अझ प्रगाढ हुन्छ । यो दृश्य महाङ्काल क्षेत्रको पर्यटकीय साहित्यिक पदयात्राका क्रममा देखिएको हो । महाङ्काल प्रज्ञा प्रतिष्ठान ललितपुरले आयोजना गरेको दुईदिने यात्राले दक्षिण ललितपुरको प्राकृतिक सुन्दरता, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक जीवनलाई नजिकबाट नियाल्ने अवसर जुटाएको थियो ।

पहाडका थुम्कामा प्रकृतिको चित्र

ललितपुर भन्नेबित्तिकै धेरैको मनमा पाटनको कला, संस्कृति, सम्पदा र काठमाडौँ उपत्यकाको सहरी जीवनको चित्र आउँछ । ललितपुरको कुपण्डोल मात्रै चिन्नेले नकण्डोल र नमनडोल नचिनेको हुन सक्छ । जावलाखेल मात्रै जानेको व्यक्तिले गोटिखेल, बुखेल र मानिखेल नजानेको हुन सक्छ । तर, जिल्लाको दक्षिणी भेगमा पुग्दा ललितपुरको अर्को परिचय भेटिन्छ । विराटनगरमा जन्मेहुर्केका पत्रकार आश्विनी कोइरालाले यो ललितपुरबारे कुनै जानकारी नभएको बताउनु भयो । उहाँले दक्षिण ललितपुर पुगेपछि अर्को ललितपुर पनि देखिएको बताउनु भयो । यहाँ अग्ला पहाड छन्, पहाडका काखमा छरिएका बस्ती छन्, घना वनजङ्गल छन्, खेतीयोग्य पाखाबारी छन् र टाढा क्षितिजमा देखिने हिमाल छन् । महाङ्काल क्षेत्रका पहाडहरू मौसमअनुसार फरकफरक रङमा सजिन्छन् । कतै वनजङ्गलको गाढा हरियाली, कतै खेतीपातीले बनेका पहेँला र हरिया पाटा, कतै घामको प्रकाशले टल्किएका डाँडाका टाकुरा । बिहानको घामसँगै खुल्ने हिमाली दृश्यले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाउँछ ।

टुङ्गुन क्षेत्रबाट देखिने दृश्यले यहाँको पर्यटन सम्भावनाको एउटा झलक दिन्छ । प्रकृतिसँग रमाउन चाहने, पदयात्रा गर्न रुचाउने, फोटोग्राफी गर्ने र केही समय सहरको कोलाहलबाट टाढा रहेर शान्त वातावरणमा बिताउन चाहनेका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ । यहाँको विशेषता हिमाल हेर्नु मात्र होइन, हिमालको पृष्ठभूमिमा देखिने पहाडी जनजीवन पनि हो । पहाडका पाखामा गरिएका खेती, छरिएका घर, स्थानीय उत्पादन र गाउँले परिवेशले यात्रालाई थप अर्थपूर्ण बनाउँछन् ।

प्रकृति, धर्म र इतिहासको पदयात्रा

महाङ्काल प्रज्ञा प्रतिष्ठानको आयोजनामा २०८३ मङ्सिर ५ र ६ गते सम्पन्न ‘पर्यटकीय साहित्यिक पदयात्रा तथा कला साहित्य सिर्जना कार्यक्रम-२०८३’ ले यस्तै विविधतायुक्त भूगोललाई साहित्य र सिर्जनासँग जोड्ने प्रयास गरेको थियो । करिब ६० जना साहित्यकार, स्रष्टा, सर्जक, जनप्रतिनिधि, पत्रकार, कलाकार तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको पदयात्रा महाङ्काल स्थानबाट सुरु भएको थियो । पदयात्राका क्रममा सहभागीहरूले वैतरणी धाम, तामाङ ल्हुङतोग गुम्बा, लाम्राङ गढी, चनढुङ्गो र कालेश्वर मन्दिरलगायतका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गरे । यी स्थलहरू केवल घुमफिरका गन्तव्य मात्र होइनन्, स्थानीय समाजको आस्था, इतिहास, परम्परा र पहिचानसँग जोडिएका सम्पदा पनि हुन् ।

कतै धार्मिक विश्वाससँग जोडिएका स्थल, कतै पुराना ऐतिहासिक संरचना, कतै बौद्ध संस्कृति झल्काउने गुम्बा त कतै प्रकृतिले बनाएका आकर्षक संरचना । एउटै भूगोलभित्र यति धेरै विविधता भेटिनु महाङ्कालको विशेषता हो । पदयात्राले सहभागीलाई यी स्थलहरूको अवलोकन गराउने मात्र होइन, तिनको महत्वलाई सिर्जनामार्फत अभिव्यक्त गर्ने अवसरसमेत दिएको थियो । प्रकृतिको सुन्दरता देखेर कविता लेख्ने, स्थानीय संस्कृति र जनजीवनलाई नियालेर कथा तथा निबन्धको विषय खोज्ने र ऐतिहासिक सम्पदाबारे नयाँ दृष्टिकोण बनाउने अवसर यात्रामा सहभागी स्रष्टाले पाए ।

६ गाउँ, अनेक सम्भावना

महाङ्काल गाउँपालिकाका बुखेल, मानिखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङ गरी ६ ओटा वडा छन् । यी सबै वडामा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका सम्भावना छन् । तर, ती सम्भावनालाई व्यवस्थित रूपमा पहिचान गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । सिम्बा झरना, चनढुङ्गो, लुङतोग गुम्बा, लाम्राङ गढी, कालेश्वर, डढ्याखोर, खोरभञ्ज्याङ र महाभारत पर्वतशृङ्खलाका उच्च पहाड यहाँका आकर्षक स्थल हुन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेका यी स्थानलाई जोडेर पदमार्ग निर्माण गर्न सकिए महाङ्कालमा पर्यटनको नयाँ सम्भावना खुल्न सक्छ ।

यहाँको अर्को विशेषता कृषि र स्थानीय उत्पादन हो । कफी तथा चियाका पकेट क्षेत्र, खुवा, दूध, तरकारीलगायतका उत्पादनले महाङ्कालको ग्रामीण अर्थतन्त्रलाई चिनाउँछन् । पर्यटकलाई प्राकृतिक दृश्यसँगै स्थानीय उत्पादनको स्वाद र गाउँले जीवनशैलीसँग परिचित गराउन सकिए पर्यटन र स्थानीय उत्पादनबीच राम्रो सम्बन्ध स्थापित हुन सक्छ । पर्यटन भनेको सुन्दर दृश्य हेरेर फर्किनु मात्र होइन । स्थानीय उत्पादनको उपभोग, होमस्टेमा बसाइ, स्थानीय परिकारको स्वाद, संस्कृति र परम्पराको अनुभव तथा स्थानीय समुदायसँगको अन्तरक्रिया पनि पर्यटनकै हिस्सा हुन् । महाङ्कालमा यी सबैलाई जोड्न सकिने आधार देखिन्छ ।

फाइल फोटोः २०७४ साउन २१ गते लिइएको वैतरणीधामको फोटो ।

बाढीले बिर्सन नदिएको वैतरणी धाम

महाङ्कालका सम्पदाको चर्चा गर्दा वैतरणी धामलाई छुटाउन मिल्दैन । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो क्षेत्र प्राकृतिक विपत्तिका कारण प्रभावित भएको छ । बाढीले पुरानो संरचनालाई भग्नावशेषमा परिणत गरे पनि यससँग जोडिएको धार्मिक आस्था र ऐतिहासिक महत्व हराएको छैन । नजिकै रहेको महाङ्कालथानले पनि यस क्षेत्रको धार्मिक पहिचानलाई थप बलियो बनाएको छ । यस्ता सम्पदाको संरक्षण, पुनःस्थापना र व्यवस्थित विकास गर्न सके धार्मिक पर्यटनका लागि नयाँ सम्भावना सिर्जना हुन सक्छ । प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनु अहिलेको आवश्यकता हो । पर्यटकको आवागमन बढाउने नाममा प्रकृतिमा असर पार्ने होइन, स्थानीय समुदायको सहभागितामा सम्पदाको मौलिकता जोगाउँदै पर्यटन पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ ।

साहित्यमा उतारिएको महाङ्काल

प्राकृतिक सौन्दर्य र सम्पदाले भरिएको भूगोललाई साहित्यसँग जोड्नु यस पदयात्राको अर्को महत्वपूर्ण पक्ष थियो । सामान्यतः पर्यटकीय यात्रामा सहभागीहरू दृश्य हेर्छन्, तस्बिर खिच्छन् र फर्किन्छन् । तर, साहित्यिक पदयात्राले देखेका दृश्य, भेटेका मानिस, सुनेका कथा र अनुभूत गरेका विषयलाई सिर्जनामा रूपान्तरण गर्ने अवसर दिन्छ । यस कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश केसीलगायत जनप्रतिनिधिको सहभागिता थियो । प्रा. डा. कृष्णप्रसाद दाहाल, प्रा. डा. देवी नेपाल, गोपाल सञ्जेल, रत्न विरही घिमिरेलगायत साहित्यकार तथा स्रष्टाहरू पनि पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।

पदयात्रामा सहभागी सर्जकहरूले साहित्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रमका दौरान लुङ्तोग गुम्बामा रिम्पोछेले पदयात्रीलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । त्यसैगरी लाम्राङ गढीमा सर्जकहरूले गीत, कविता, गजल र मुक्तक वाचन गरेका थिए । सिसवनका होम स्टेमा बास बसेका पदयात्री भोलिपल्ट सखारै कालेश्वर मन्दिर पुगेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्थ्यो । कालेश्वरकै चुचुरोबाट साहित्यकारले साहित्यिक रचना वाचन गरे भने महाङ्काल प्रज्ञा प्रतिष्ठानले पदयात्रीका रचना समेटेर महाङ्काल प्रज्ञा प्रकाशन गर्ने उद्घोष गरेको छ ।

विभिन्न क्षेत्रका स्रष्टालाई एउटै यात्रामा जोडेर स्थानीय भूगोल, मौलिक संस्कृति, जनजीवन र सम्पदालाई साहित्यिक सिर्जनाको विषय बनाउने उद्देश्य कार्यक्रमले बोकेको थियो । महाङ्कालका डाँडाकाँडा, हिमाली दृश्य, धार्मिक स्थल, गुम्बा, गढी र स्थानीय जनजीवन अब सहभागी स्रष्टाका सिर्जनामा पनि अभिव्यक्त हुनेछन् । यसले महाङ्काललाई भौगोलिक रूपमा मात्र होइन, साहित्यिक र सांस्कृतिक रूपमा समेत चिनाउने अपेक्षा गर्न सकिन्छ । पदयात्रा कालेश्वर मन्दिर हुँदै महाङ्काल गाउँपालिकामा पुगेर समापन भएको थियो ।

गन्तव्य बन्ने आधार, प्रचार र पूर्वाधारको खाँचो

महाङ्कालमा पर्यटकीय सम्भावना प्रशस्त छन् । तर, सम्भावना हुनु र त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु फरक कुरा हो । यहाँका आकर्षक स्थलको पहिचान, तिनको प्रचारप्रसार, व्यवस्थित पदमार्ग, यातायात सुविधा, सूचना केन्द्र, पर्यटकीय संकेत चिह्न, खानेपानी, शौचालय र सुरक्षित आवासजस्ता आधारभूत पूर्वाधार आवश्यक छन् । त्यसैगरी स्थानीय युवालाई पर्यटनसम्बन्धी तालिम, होमस्टे सञ्चालनमा प्रोत्साहन, स्थानीय परिकार तथा उत्पादनको बजारीकरण र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिनुपर्छ । स्थानीय समुदायलाई लाभ पुग्ने गरी पर्यटनको योजना बनाउन सके यसले गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सक्छ ।

महाङ्काल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको साहित्यिक पदयात्राले यिनै सम्भावनालाई चिनाउने एउटा सिर्जनात्मक प्रयास गरेको छ । यसले स्थानीय सम्पदाको महत्वबारे बहस र संवाद बढाउन तथा कला साहित्यका माध्यमबाट महाङ्काललाई राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । २ हजार ३०० मिटरको उचाइबाट देखिएको तोरी फुलेका पहाड र आकाश छेडौँलाझैँ उभिएका हिमालको दृश्य आँखामा मात्र होइन, मनमा पनि बसिरहन्छ । प्रकृतिको त्यो अनुपम चित्रले एउटा प्रश्न पनि छाड्छ यति सुन्दर भूगोल र यति धेरै सम्पदा भएको महाङ्काललाई हामीले पर्यटकीय गन्तव्यका रूपमा कति चिनाउन सकेका छौँ ?

महाङ्कालको प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभव र ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै व्यवस्थित पर्यटनसँग जोड्न सकियो भने दक्षिण ललितपुरको यो पहाडी भूगोल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । त्यसका लागि साहित्यिक पदयात्राजस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिनुका साथै पर्यटन पूर्वाधार र प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । तोरीको पहेँलो रङमा रङ्गिएका पाखा, हरिया वनजङ्गल र हिमालको सेतो मुस्कान बोकेको महाङ्काल प्रकृतिको एउटा सुन्दर क्यानभास हो । अब यसलाई पर्यटनको नक्सामा स्थापित गर्ने जिम्मेवारी स्थानीय सरकार, समुदाय र सरोकारवाला सबैको हो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार