प्रकाश थिङ/ललितपुर
२०६९ सालदेखि स्थानीय युवाले थालेको प्रयासले लिँदैछ मूर्तरूप, खयरघारी रङ्गशालालाई दक्षिण ललितपुर र मकवानपुरका खेलाडी उत्पादन गर्ने केन्द्र बनाउने लक्ष्य !
ललितपुर । कुनै समय मोजाको बल बनाएर खाली ठाउँमा फुटबल खेल्ने प्युटारका युवाहरूले देखेको सपना अहिले रङ्गशालाको स्वरूप लिने चरणमा पुगेको छ ।
सीमित स्रोतसाधन र पूर्वाधारको अभावबिच सुरु भएको उनीहरूको प्रयासले १४ वर्षपछि मूर्तरूप लिन थालेको हो ।
दक्षिण ललितपुरको बागमती गाउँपालिका-४, प्युटारस्थित खयरघारी फुटबल मैदान अब व्यवस्थित रङ्गशालाका रूपमा विकास हुने प्रक्रियामा छ ।
हिजो खेल्ने ठाउँको अभावमा आफ्नै प्रयासले मैदान खोज्दै हिँडेका युवाहरूको सपना अहिले करोडौँको पूर्वाधार निर्माणसँग जोडिएको छ ।
उनीहरूको उद्देश्य मैदान बनाउनु मात्र थिएन, गाउँमा लुकेर रहेका फुटबल प्रतिभालाई अवसर दिने, नयाँ खेलाडी उत्पादन गर्ने र दक्षिण ललितपुरलाई फुटबलको पहिचान दिलाउने पनि थियो ।
खयरघारीमा फुटबल मैदान निर्माणको पहल २०६९ साल मङ्सिर २५ गते छोर्गे युवा क्लबको अगुवाइमा सुरु भएको हो ।
खेलकुद गतिविधिलाई व्यवस्थित बनाउन संस्थागत पहल आवश्यक ठानेर स्थापना गरिएको क्लबले मैदान निर्माणको परिकल्पनादेखि त्यसलाई विस्तार गर्ने कामसम्म अगुवाइ गर्यो ।
क्लबका संस्थापक अध्यक्ष श्यामबहादुर लोप्चन तामाङको नेतृत्वमा पूर्वफुटबल खेलाडी, स्थानीय युवा र प्युटारवासीलाई समेटेर अभियान अघि बढाइएको थियो ।
मैदानको परिकल्पना, योजना र प्रारम्भिक विकासमा श्यामबहादुर लोप्चन, रामकुमार लामा, प्रकाश थिङ, चन्द्रबहादुर भोम्जन, कृष्ण घलान, कल्याण लामा, वीरबहादुर स्याङ्तान र सन्तोष लोप्चनलगायतको योगदान रह्यो ।
सुरुवाती दिनमा आर्थिक स्रोत, आवश्यक सामग्री र पूर्वाधारको अभाव थियो । तर, स्थानीयको श्रम, सहयोग र सामूहिक प्रयासले मैदानको विकासलाई निरन्तरता दियो ।
त्यसपछि खयरघारी खेलकुद गतिविधिको केन्द्र बन्दै गयो । विद्यालयस्तरीय खेलकुद कार्यक्रमदेखि वडास्तरीय, गाउँपालिकास्तरीय र क्षेत्रीय फुटबल प्रतियोगितासम्म सञ्चालन हुन थाले ।
मैदानले बालबालिका र किशोरकिशोरीलाई फुटबलमा आकर्षित गर्नुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्यो ।
यसरी सामान्य खेलमैदानका रूपमा सुरु भएको खयरघारी बागमती गाउँपालिकाको महत्वपूर्ण खेलकुद पूर्वाधारका रूपमा स्थापित हुँदै गयो ।
स्थानीय प्रयासदेखि सरकारी लगानीसम्म
स्थानीय युवाले सुरु गरेको अभियानलाई व्यवस्थित रङ्गशालामा रूपान्तरण गर्न स्थानीय सरकारको चासो र पहल पनि जोडिएको छ ।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन नेतृत्वको गाउँपालिका टिम तथा सातओटै वडाका जनप्रतिनिधिको समन्वयले निर्माण प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याएको छ ।
त्यसैगरी बागमती प्रदेश सांसद् एवम् प्रदेशका पूर्व मन्त्री मिनकृष्ण महर्जनको पहलमा रङ्गशाला निर्माणका लागि १ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।
निर्माणसम्बन्धी टेन्डर प्रक्रिया पूरा भई निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको बताइएको छ । अब निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ ।
वर्षौँदेखि स्थानीयले उठाउँदै आएको माग बजेट विनियोजन र निर्माण सम्झौतासम्म पुग्नु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीयस्तरबाट सुरु भएको खेलकुद अभियानलाई सरकारी लगानी र संस्थागत विकाससँग जोडेको छ ।
दुई जिल्लाका खेलाडी जोड्ने सम्भावना
खयरघारी रङ्गशालाको महत्व प्युटार वा बागमती गाउँपालिकाभित्र मात्र सीमित छैन । यसको भौगोलिक अवस्थिति र दक्षिण ललितपुरसँग जोडिएको मकवानपुरको निकटतालाई हेर्दा यसलाई दुई जिल्लाका खेलाडीको साझा खेलकुद केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
यहाँ नियमित फुटबल प्रशिक्षण, मैत्रीपूर्ण खेल, प्रतियोगिता तथा खेलाडी छनोटका कार्यक्रम सञ्चालन गर्न सके ललितपुर र मकवानपुरका ग्रामीण क्षेत्रमा रहेका प्रतिभाले आफ्नै क्षेत्रनजिक अवसर पाउन सक्छन् ।
खेलाडी उत्पादनसँगै दुई जिल्लाका युवाबिच परिचय, सहकार्य र भाइचाराको सम्बन्ध विस्तार गर्न पनि रङ्गशालाले भूमिका खेल्न सक्छ ।
अर्कोतर्फ, ठूला प्रतियोगिता र खेलकुद गतिविधि सञ्चालन हुन थाले स्थानीय व्यवसाय, यातायात, होटल तथा पर्यटन क्षेत्रले समेत लाभ लिन सक्नेछन् ।
यस अर्थमा खयरघारी रङ्गशाला खेलकुद पूर्वाधार मात्र नभई स्थानीय आर्थिक तथा सामाजिक गतिविधि विस्तारको माध्यम बन्न सक्ने सम्भावना बोकेको छ ।
निर्माणसँगै सञ्चालनको चुनौती
यद्यपि, रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्नु नै यसको अन्तिम उपलब्धि होइन । निर्माण कार्य गुणस्तरीय र निर्धारित मापदण्डअनुसार सम्पन्न हुनु उत्तिकै महत्वपूर्ण छ ।
खेलमैदानको स्तरोन्नति, खेलाडीका लागि आवश्यक सुविधा, दर्शक बस्ने व्यवस्था, सुरक्षा, सरसफाइ र दीर्घकालीन सञ्चालन योजना निर्माणकै चरणदेखि ध्यान दिनुपर्ने विषय हुन् ।
त्यसका लागि स्थानीय सरकार र खेलकुद विकास समितिसँगै ललितपुर जिल्ला फुटबल सङ्घ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा), फुटबल क्लब, एकेडेमी तथा प्रशिक्षकहरूको प्राविधिक सहयोग र समन्वय आवश्यक देखिन्छ ।
रङ्गशाला निर्माणपछि नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने कार्ययोजना पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
स्थानीय युवाले देखेको सपना दिगो बनाउन मैदानको संरक्षण, व्यवस्थापन र खेलाडी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्नेछ । त्यसो हुन सके खयरघारीबाट जिल्ला हुँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधार तयार हुन सक्छ ।
खयरघारी फुटबल रङ्गशाला कुनै एक व्यक्ति वा संस्थाको मात्र उपलब्धि होइन । यो छोर्गे युवा क्लबको संस्थागत पहल, अग्रज खेलाडीहरूको अनुभव, परिकल्पनाकारहरूको योगदान र स्थानीयवासीको सामूहिक इच्छाशक्तिको परिणाम हो ।
विसं २०६९ सालमा सामान्य खेलमैदान निर्माण गर्ने सोचबाट सुरु भएको यात्रा आज करोडौँको पूर्वाधार निर्माणको चरणमा पुग्नु आफैँमा प्रेरणादायी छ ।
मोजाको बलबाट फुटबलको सपना देखेका पुस्ताको प्रयासले अब नयाँ पुस्ताका लागि अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
त्यो सपना पूरा हुन रङ्गशाला निर्माणसँगै नियमित खेलकुद गतिविधि, दक्ष प्रशिक्षण र संस्थागत व्यवस्थापन आवश्यक हुनेछ ।
खयरघारीलाई त्यसरी विकास गर्न सकिए यो प्युटारको मात्र गौरव बन्ने छैन, दक्षिण ललितपुर र मकवानपुरका खेलाडीलाई जोड्ने साझा खेलकुद केन्द्रका रूपमा स्थापित हुनेछ ।