मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

शान्ति सम्झौताको २०वर्ष बित्दा पनि द्वन्द्वपीडितले पाएनन् न्याय

हेटौँडा । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको इन्सेकले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्क्रमणकालीन न्यायको अवस्था र पीडितका अपेक्षाबारे हेटौँडामा २०८३ मङ्सिर ५ गते आयोजित कार्यक्रममा सहभागीहरूले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले सङ्क्रमणकालीन न्यायका विषयमा सरकारले स्पष्ट धारणा र कार्ययोजना सार्वजनिक गर्न नसकेको बताउनुभयो ।

नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले दश वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै दिगो शान्ति स्थापना, मानव अधिकारको संरक्षण र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धता गरेको उहाँले स्मरण गराउनुभयो ।

सम्झौतामा द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य पत्ता लगाउने, पीडितलाई न्याय तथा परिपूरण उपलब्ध गराउने र दण्डहीनताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि दुई दशक बितिसक्दा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गौतमको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईंले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए पनि अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो ।

आयोगमा उजुरी दर्ता भए पनि गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा प्रभावकारी अनुसन्धान हुन नसकेको उहाँको भनाइ थियो ।

उपसभामुख चापागाईंले २०८३ वैशाख २२ गते अध्यादेश जारी गरी दुवै आयोगका पदाधिकारीलाई पदमुक्त गरिएको लामो समय बितिसक्दा पनि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले सशस्त्र द्वन्द्वका क्रममा हत्या, यातना, अपहरण तथा बलपूर्वक विस्थापनलगायत गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाबाट हजारौँ नागरिक प्रभावित भएको बताउनुभयो ।

न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले पीडित तथा सरोकारवालासँग अर्थपूर्ण परामर्श गरी पारदर्शी र निष्पक्ष प्रक्रियाबाट दुवै आयोगमा सक्षम पदाधिकारी नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा हेटौँडाकी अधिवक्ता अप्सरा बस्नेतले सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मानवअधिकार बागमती प्रदेशस्तरीय सञ्जालका सदस्य रुद्रबहादुर खड्काले विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नसकेको बताउनुभयो ।

द्वन्द्वले समाजमा विद्यमान विभेदलाई थप गहिरो बनाएको उल्लेख गर्दै उहाँले लामो समयसम्म पनि पीडितले न्याय पाउन नसक्नु दुःखद भएको धारणा व्यक्त गर्नुभयो । न्याय प्राप्तिका लागि पीडितले आफ्नो आवाज निरन्तर उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष कमल विश्वकर्माले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडितमा निराशा बढेको बताउनुभयो ।

कानुनी व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गरी पीडितलाई न्यायको अनुभूति गराउनुपर्ने उहाँको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी द्वन्द्वपीडितहरूले देश राजनीतिक तथा सामाजिक रूपमा नयाँ युगमा प्रवेश गरे पनि आफूहरूको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको भन्दै सम्बन्धित निकायप्रति गुनासो गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका सचिव पूर्णबहादुर दर्जीले निराश नभई सबै पक्ष एकजुट भएर सङ्क्रमणकालीन न्यायको समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार