मानव आवाज

२०८३ कात्तिक २३ गते
00: 00: 00
२०८३ कात्तिक २३ गते

तीन पात्रको रहस्यमय प्रस्तुतिसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

ललितपुर । तीन पात्र, फरक हुलिया र एकअर्कासँग जोडिएको रोचक प्रस्तुति । यही आकर्षणसहित नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक तारा अधिकारीको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरले यसको कथावस्तु र पात्रहरूको सम्बन्धबारे दर्शकमाझ कौतूहल जगाउने प्रयास गरेको छ ।

सुनौलो तारा मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकार जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्कालाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । तीनै पात्रलाई फरक शैली र आकर्षक स्वरूपमा देखाइएको पोस्टरले चलचित्रको शीर्षकअनुसार नै केही रहस्यमय अनुभूति गराउँछ । पोस्टरमा देखिएको पात्रहरूको प्रस्तुतिले चलचित्रप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ ।

२०८३ पुस २४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिलस्मी’ पारिवारिक कथावस्तुमा आधारित रहेको बताइएको छ । चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गर्नुभएको हो । गीतकारका रूपमा समेत परिचित अधिकारीका लागि ‘तिलस्मी’ पहिलो निर्देशकीय चलचित्र हो । यससँगै उहाँले चलचित्र निर्देशनमा आफ्नो नयाँ यात्रा सुरु गर्नुभएको छ । चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेख्नुभएको हो ।

चलचित्रलाई प्राविधिक रूपमा आकर्षक बनाउन अनुभवी प्राविधिक टोलीले काम गरेको छ । यसको छायाङ्कन विनोद बलले गर्नुभएको छ भने ध्वनि डिजाइन अमित श्रेष्ठको रहेको छ । प्रमुख सहायक निर्देशकमा इलियास शेख र सहायक निर्देशकमा अनुजा अधिकारी हुनुहुन्छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनिष डीके र सुवास राईले सम्हाल्नुभएको छ ।

चलचित्रको सङ्गीत सुमन केसी र किरण कँडेलले तयार पार्नुभएको छ । ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठको रहेको छ भने सम्पादन नहकुल खड्काले गर्नुभएको छ । राजीव समरले कोरियोग्राफी र राजेन्द्र मोक्क्तानले कलर संयोजन गर्नुभएको छ । चलचित्रको प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेको हो ।

निर्देशक तारा अधिकारीको पहिलो चलचित्र भएकाले पनि ‘तिलस्मी’लाई उहाँको सिर्जनात्मक क्षमता र निर्देशकीय यात्राको नयाँ परिचयका रूपमा हेरिएको छ । सार्वजनिक पोस्टरले सिर्जना गरेको कुतुहलतालाई चलचित्रको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतिले कसरी सम्बोधन गर्छ भन्ने कुरा भने प्रदर्शनपछि नै थाहा हुनेछ । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार