सिन्धुली । सिन्धुलीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया तथा बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोगलगायतका मानवीय र सामाजिक सेवाका गतिविधि सञ्चालन भएका छन् ।
यसैक्रममा सिङ्गापुरस्थित ‘Nge Alik Tee and Zhang Wen’s Family’ को सहयोगमा रसुवामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका कमलामाई नगरपालिका-११ का १० परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
प्रत्येक परिवारलाई २० हजार रुपियाँका दरले कुल २ लाख रुपियाँ सहयोग प्रदान गरिएको हो । यस सहयोगले विपद्मा आफन्त गुमाएका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोग, Good Vision Nepal तथा सिङ्गापुरस्थित ‘Nge Alik Tee and Zhang Wen’s Family’ को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा सिन्धुलीमाढीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको छ ।
सिन्धुली सामुदायिक आँखा अस्पतालको व्यवस्थापनमा कात्तिक १३ र १४ गते सञ्चालित शिविरमा दुई दिनमा १ सय ४१ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
शिविरको पहिलो दिन ४२ महिला र ४७ पुरुष गरी ८९ जनाको तथा दोस्रो दिन ३३ महिला र १९ पुरुष गरी ५२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।
शिविरमा सिङ्गापुरबाट आएका सहयोगी तथा प्राविधिक टोलीका सदस्यहरूसमेत सहभागी भई सेवा प्रदान गरिरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठको सक्रियता र नेतृत्वमा असहाय तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
सभापति श्रेष्ठले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आँखाका बिरामीको पहिचान तथा छनोट गरी उनीहरूलाई सिन्धुली सदरमुकाम ल्याएर निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउँदै आउनुभएको छ ।
यसअघि मरिण र हरिहरपुरगढी क्षेत्रका ९० जना आँखाका बिरामीले समेत यस्तो निःशुल्क सेवाबाट लाभ लिएका थिए ।
निःशुल्क शल्यक्रिया तथा आर्थिक सहयोगजस्ता मानवीय सेवाका कार्यक्रमले आर्थिक रूपमा कमजोर, विपन्न तथा विपद्पीडित नागरिकलाई राहत पुर्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।