मानव आवाज

२०८३ कात्तिक १२ गते
00: 00: 00
२०८३ कात्तिक १२ गते

मेस्सीलाई पछि पार्दै रोनाल्डोको पोल्टामा ‘अल टाइम बालोन डिओर’ सम्मान

सन् २००८ को उत्कृष्ट सिजनलाई दर्शकको मतबाट पहिलो स्थान, मेस्सीको सन् २०१२ को संस्करण दोस्रो

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई पछि पार्दै ‘B.O.A.T. (Best of All Time)’ अर्थात् इतिहासकै उत्कृष्ट बालोन डिओर संस्करणको सम्मान हात पार्नुभएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्स फुटबलसँग सम्बन्धित यस विशेष छनोटमा रोनाल्डोको सन् २००८ को बालोन डिओर संस्करण पहिलो भएको छ ।

बालोन डिओर जित्नेहरूको सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

अर्जेन्टिनाका स्टार लियोनल मेस्सीको सन् २०१२ को संस्करण दोस्रो स्थानमा रह्यो । रोनाल्डोको सन् २०१७ को संस्करण तेस्रो स्थानमा परेको छ ।

यो सम्मान नियमित रूपमा प्रदान गरिने वार्षिक बालोन डिओरभन्दा फरक हो । यसमा बालोन डिओर जितिसकेका खेलाडीमध्ये कसको उपाधि जितेको सिजन उत्कृष्ट थियो भन्ने विषयमा समर्थकले मतदान गरेका थिए ।

उत्कृष्ट सिजनका आधारमा रोनाल्डो पहिलो

रोनाल्डोले सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट खेल्दै पहिलोपटक बालोन डिओर जित्नुभएको थियो । उक्त सिजन रोनाल्डोले क्लबका लागि सबै प्रतियोगितामा गरी ४२ गोल गर्नुभएको थियो ।

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

उक्त उपलब्धिले रोनाल्डोलाई विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

शीर्ष स्थानमा रोनाल्डो र मेस्सीको वर्चस्व

मतदानको अन्तिम नतिजाअनुसार शीर्ष १० स्थानमा रोनाल्डो र मेस्सीका सिजनले वर्चस्व कायम गरेका छन् ।

रोनाल्डोको सन् २००८ को संस्करण पहिलो, मेस्सीको सन् २०१२ को दोस्रो र रोनाल्डोको सन् २०१७ को संस्करण तेस्रो स्थानमा रहेका छन् । मेस्सीको सन् २०२३ को संस्करण चौथो तथा रोनाल्डोको सन् २०१६ को संस्करण पाँचौँ स्थानमा परेको छ ।

यस छनोटमा मेस्सी र रोनाल्डोबाहेक योहान क्रुफ, मिचेल प्लाटिनी, मार्को भान बास्टेन, रोनाल्डो नाजारियो, फ्रान्ज बेकनबावरलगायतका चर्चित खेलाडीका बालोन डिओर जितेका सिजन पनि समावेश थिए ।

नियमित बालोन डिओरमा भने मेस्सी अगाडि

इतिहासकै उत्कृष्ट बालोन डिओर संस्करण छनोटमा रोनाल्डो पहिलो भए पनि नियमित बालोन डिओर जित्ने सङ्ख्यामा मेस्सी अगाडि हुनुहुन्छ । मेस्सीले अहिलेसम्म आठपटक र रोनाल्डोले पाँचपटक पुरुष बालोन डिओर हात पार्नु भएको छ ।

त्यसैले ‘अल टाइम बालोन डिओर’ सम्मानलाई नियमित बालोन डिओरको नयाँ उपाधि वा सर्वकालीन उत्कृष्ट खेलाडीको निर्विवाद निर्णयका रूपमा बुझ्नु हुँदैन । यो समर्थकको मतदानबाट छनोट गरिएको उत्कृष्ट बालोन डिओर संस्करणको सम्मान हो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार