मानव आवाज

२०८३ असोज १५ गते
00: 00: 00
२०८३ असोज १५ गते

ग्लोबल पिस इन्डेक्समा नेपाल कहाँ छ ?

शान्ति भन्नाले युद्ध नभएको अवस्थामात्र बुझिँदैन । कुनै देशमा नागरिक कति सुरक्षित छन्, समाजमा हिंसा र अपराधको अवस्था कस्तो छ, राजनीतिक तथा सामाजिक द्वन्द्व कति गहिरो छ र राज्य कति सैन्यीकृत छ भन्ने कुराले पनि त्यस देशको शान्तिको अवस्था निर्धारण गर्छ । यही व्यापक अवधारणालाई मापन गर्ने प्रमुख अन्तर्राष्ट्रिय सूचक हो-ग्लोबल पिस इन्डेक्स ।

इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) अर्थशास्त्र तथा शान्ति संस्थानले प्रत्येक वर्ष प्रकाशित गर्ने इन्डेक्सले विश्वका १६३ देशलाई २३ ओटा गुणात्मक तथा परिमाणात्मक सूचकका आधारमा मूल्याङ्कन गर्छ । यसका तीन मुख्य आधार सामाजिक सुरक्षा तथा संरक्षण, जारी आन्तरिक तथा अन्तर्राष्ट्रिय द्वन्द्व र सैन्यीकरण हुन् । सूचकमा अङ्क जति कम भयो, देश त्यति नै शान्त मानिन्छ । यसर्थ सूचकाङ्कको वरियता माथि जानु र अङ्क घट्नु सामान्यतः सकारात्मक सङ्केत हो ।

पाँच वर्षमा नेपालको उतारचढाव

नेपालको पछिल्लो पाँच वर्षको सूचकाङ्क यात्रा हेर्दा एउटा रोचक तर चिन्ताजनक चित्र देखिन्छ । २०२२ देखि २०२५ सम्म नेपालले केही उतारचढावका बाबजुद तुलनात्मक रूपमा सुधारको बाटो समातेको देखिन्छ । तर, २०२६ मा भने एकैपटक ठूलो गिरावट आएको छ ।

२०२२ मा नेपाल १६३ देशमध्ये ७३औँ स्थानमा थियो र स्कोर १.९४७ थियो । दक्षिण एसियामा भुटानपछि नेपाल दोस्रो थियो । त्यस वर्ष दक्षिण एसिया विश्वकै दोस्रो कम शान्त क्षेत्र भए पनि नेपाल क्षेत्रीय औसतभन्दा निकै राम्रो अवस्थामा थियो । २०२३ मा नेपालको शान्ति अङ्क बढेर २.००६ भयो र वरियता ७९ मा झर्‍यो। अर्थात् अघिल्लो वर्षको तुलनामा नेपालको शान्तिको स्तर केही कमजोर भयो । तर दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमै रह्यो-भुटान पहिलो र नेपाल दोस्रो ।

२०२४ मा शान्त अङ्क अझ बढेर २.०६९ पुग्यो र नेपाल ८०औँ स्थानमा रह्यो । अघिल्लो वर्षको तुलनामा १२ स्थानको गिरावट देखिए पनि नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा कायमै थियो । त्यस वर्ष भुटान २१औँ, नेपाल ८०औँ र बङ्गलादेश ९३औँ स्थानमा थिए । २०२५ मा तस्वीर केही सकारात्मक भयो । नेपालको अङ्क घटेर १.९८७ मा आयो र वरियता ७६ मा उक्लियो । अर्थात् एक वर्षमै चार स्थान सुधार भयो । आइइपीका अनुसार नेपाल २०२५ मा दक्षिण एसियामै शान्तिको अवस्थामा सबैभन्दा ठूलो सुधार गर्ने देश थियो । यसको सुधार मुख्यतः सैन्यीकरणसम्बन्धी सूचकमा सुधार, हतियार आयातमा कमी, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना प्रयासमा सुधार तथा आतङ्कवादको प्रभाव घट्नु जस्ता कारणसँग जोडिएको थियो ।

२०२६ ले अघिल्ला वर्षको सुधारलाई उल्टाइदिएको छ । नेपालको अङ्क २.१४३ पुगेको छ र विश्व वरीयतामा नेपाल १११ औँ स्थानमा झरेको छ । यो अघिल्लो वर्षभन्दा २६ स्थानको ठूलो गिरावट हो । आइइपीले यसलाई नेपालको २००८ यताकै सबैभन्दा कमजोर अवस्था भनेको छ ।

२०२६ को ठूलो गिरावट किन ?

नेपालको २०२६ को गिरावटलाई सामान्य वार्षिक उतारचढावका रूपमा मात्र बुझ्न मिल्दैन । आइइपीका अनुसार नेपालको शान्तिमा आएको गिरावटका तीन ओटै क्षेत्रमा नकारात्मक परिवर्तन देखिएको छ । विशेषतः जारी द्वन्द्वसम्बन्धी क्षेत्रमा सबैभन्दा ठूलो गिरावट आएको छ । सात ओटा सूचक बिग्रिएका छन्, चार ओटा सुधारिएका छन् भने १२ ओटा सूचकमा परिवर्तन भएको छैन ।

यसको प्रमुख कारणका रूपमा आइइपीले २०२५ सेप्टेम्बरमा भएको जेनजी आन्दोलनलाई औँल्याएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको आन्दोलन भ्रष्टाचार, असमानता र सार्वजनिक स्रोतको व्यवस्थापनप्रतिको असन्तुष्टिसँग जोडिँदै व्यापक राजनीतिक आन्दोलनमा परिणत भएको रिपोर्टमा उल्लेख छ । सुरक्षा निकायको बल प्रयोगसँगै ठूलो मानवीय क्षति भयो । आइइपीका अनुसार कम्तीमा ७६ नागरिकको मृत्यु र २ हजारभन्दा बढी मानिस घाइते भएका थिए । नेपालमा सशस्त्र द्वन्द्व समाप्त भएको भए पनि शान्तिको आधार स्वतः बलियो भइसकेको छैन । राजनीतिक असन्तुष्टि, राज्यप्रतिको अविश्वास, भ्रष्टाचार, सुशासनको कमजोरी र नागरिक असन्तोषलाई समयमै सम्बोधन गर्न नसक्दा सामाजिक अशान्तिले शान्तिको समग्र सूचकलाई प्रभावित गर्न सक्छ ।

दक्षिण एसियामा नेपालको अवस्था

दक्षिण एसियाको तुलनामा नेपाल अझै पनि मध्यमभन्दा राम्रो अवस्थामा छ, तर उसको क्षेत्रीय हैसियत कमजोर हुँदै गएको छ । २०२२ मा भुटानपछि नेपाल दोस्रो शान्त देश थियो । २०२३ र २०२४ मा पनि नेपाल दोस्रो स्थानमा कायम रह्यो । २०२५ मा पनि यही स्थिति दोहोरियो । तर, २०२६ मा श्रीलङ्काले नेपाललाई उछिनेपछि नेपाल दक्षिण एसियामा तेस्रो भएको छ ।

२०२६ को क्षेत्रीय तस्वीर यस्तो छ :

यस तथ्यले नेपाललाई दक्षिण एसियाको सबैभन्दा अशान्त देश भने देखाउँदैन । नेपाल अझै पनि भारत, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि छ । तर, २०२६ मा नेपालभन्दा अगाडि रहेका भुटान र श्रीलङ्कासँग नेपालको अन्तर उल्लेखनीय बनेको छ । आइइपीका अनुसार २०२६ मा नेपाल दक्षिण एसियामै सबैभन्दा ठूलो गिरावट बेहोर्ने देश हो ।

पाँच वर्षको मुख्य सन्देश

नेपालको २०२२–२०२६ को यात्रा हेर्दा दुई ओटा विपरीत प्रवृत्ति देखिन्छन् । पहिलो, नेपालले लामो समयदेखि दक्षिण एसियामा तुलनात्मक रूपमा शान्त मुलुकको स्थान कायम गर्दै आएको छ । दोस्रो, यो उपलब्धि स्थायी र सुरक्षित भने छैन । २०२२ को ७३औँ स्थानबाट २०२४ मा ८०औँ स्थानमा झर्नु क्रमिक कमजोरी थियो । २०२५ मा ७६औँ स्थानमा फर्किनु सुधारको सङ्केत थियो । तर, २०२६ मा १११औँ स्थानमा पुग्नु भने सामान्य उतारचढावभन्दा धेरै ठूलो धक्का हो । पाँच वर्षको सुरुआती बिन्दु ७३औँ र अन्तिम बिन्दु १११औँ तुलना गर्दा नेपाल ३८ स्थान तल पुगेको छ । अझ महत्वपूर्ण कुरा अङ्कमा पनि देखिन्छ । २०२२ को १.९४७ बाट २०२६ मा २.१४३ पुग्नु भनेको शान्तिको समग्र अवस्था कमजोर हुनु हो । २०२५ मा अङ्क १.९८७ सम्म सुधारिएको थियो। त्यसैले २०२६ को गिरावटलाई अघिल्ला वर्षको दीर्घकालीन प्रवृत्तिको निरन्तरता मात्र नभई एक वर्षमा आएको असाधारण धक्काका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

अब प्रश्न–नेपालले के सिक्ने ?

शान्तिलाई संस्थागत बनाउन सुशासन, जबाफदेहिता, राजनीतिक स्थिरता, सामाजिक न्याय, नागरिक स्वतन्त्रता, प्रभावकारी न्याय प्रणाली र राज्यप्रति जनविश्वास बलियो बनाउनुपर्छ । विशेषतः २०२६ को परिणामले राजनीतिक असन्तुष्टि र सामाजिक आक्रोशलाई बेवास्ता गर्दा त्यसको असर देशको अन्तर्राष्ट्रिय शान्ति छविसम्म पुगेको छ । झन् ‘प्रतिशोधात्मक’ गिरफ्तारीका घटना दिनप्रतिदिन बढ्दै जाँदा यो अवस्थामा अझै गिरावट आउने देखिन्छ । जुन मुलुकका लागि नराम्रो धक्का हो । त्यसैले शान्तिलाई सुरक्षा निकायको नियन्त्रण वा सडकमा हिंसा नहुनुसँग मात्र जोडेर हेर्नुभन्दा न्यायपूर्ण समाज, उत्तरदायी राज्य र विश्वासिलो लोकतान्त्रिक संस्थाको निर्माणसँग जोड्नुपर्ने हुन्छ । शान्ति स्थायी उपलब्धि नभई निरन्तर संरक्षण र सुदृढीकरण गर्नुपर्ने राजनीतिक तथा सामाजिक प्रक्रिया हो भन्ने तथ्यलाई यो सूचकाङ्कले छर्लङ्गै पारेको छ ।

रिपोर्ट पढ्ने भए यहाँ क्लिक गर्नुहोला ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार