दशैँ भन्नेबित्तिकै अहिले मनमा नयाँ लुगा, टीका, जमरा, मासुभात, दक्षिणा र पारिवारिक जमघटका अनेक दृश्य आउँछन् । तर, बाल्यकालको दशैँ सम्झिँदा यी सबैभन्दा पहिले आँखाअगाडि आउने दृश्य अलि फरक छन् । सिलाउन दिएको बुस्कोटको ठूलो बगली, बगलीमा खनखनाउने सुका-मोहोर, मामाघर जान नपाउँदाको रिस, टीका लगाएर फर्किंदा पाइने चिउरा र गाउँको पाखामा ठडिएको लिङ्गे पिङ । ती सम्झनाहरूमा न महङ्गा उपहार थिए, न दशैँको भव्य सजावट । थियो त बालसुलभ उत्साह, सानो कुरामा ठूलो खुसी र वर्षमा एकपटक आउने चाडको बेग्लै रौनक ।
गाउँमा दशैँ भित्रिन लागेको सङ्केत घरघरमा देखिन्थ्यो । सोह्र श्राद्ध लागेपछि घरको सरसफाइ गरेर कमेरो र रातोमाटोले भित्ता रङ्गाउन थालेपछि गाउँ नै दशैँमय बन्थ्यो । कमेरो र रातोमाटोले रङ्गिएका घरहरू टाढैबाट चिटिक्क देखिन्थे । घर लिपपोत गर्ने, आँगन सफा गर्ने र घर वरिपरि सिँगारपटार गर्ने क्रमसँगै दशैँको रौनक बढ्दै जान्थ्यो । घरका ठूलालाई कामको चटारो हुन्थ्यो भने हामी केटाकेटीलाई नयाँ लुगा, मीठोमसिनो खानेकुरा र टीकाको प्रतीक्षाले छटपटी गराउँथ्यो । कमेरो र रातोमाटोले घर रङ्गिएपछि लाग्थ्यो-अब दशैँ साँच्चै घरभित्र पसिसक्यो ।
ललितपुरको कालेश्वर गाविस, अहिलेको महाङ्काल गाउँपालिका-४ को परिवेशमा बितेको बाल्यकालको दशैँ सम्झिँदा लाग्छ, समय फेरिएछ, रहनसहन फेरिएछ र खुसी मनाउने तरिका पनि फेरिएछन् । तर, ती दिनका सम्झना भने मनको कुनै कुनामा अझै उस्तै ताजा छन् । त्यतिबेला गाउँको दशैँको तयारी दशैँ आउनुभन्दा धेरै अघिदेखि सुरु हुन्थ्यो । घरमा सरसफाइ गर्ने, लिपपोत गर्ने, अन्नपात मिलाउने र चाडपर्वका लागि आवश्यक सामग्री जुटाउने काम हुन्थ्यो । घरका ठूलालाई दशैँको बन्दोबस्त मिलाउन भ्याइनभ्याइ हुन्थ्यो भने हामी केटाकेटीलाई भने दशैँ कहिले आउला भन्ने छटपटी । ठूलाका लागि दशैँ जिम्मेवारीको चाड थियो, हाम्रा लागि रमाइलोको महासागर ।
हामीलाई दशैँ नजिकिएको अनुभूति हुन थालेपछि सबैभन्दा पहिले नयाँ लुगाको चर्चा चल्थ्यो । अहिले जस्तो पसलमा गएर आफूलाई मन परेको लुगा छान्ने र किन्ने चलन सबैका लागि सहज थिएन । धेरैजसो घरमा कपडा किनेर ल्याउने र सिलाउन दिने गरिन्थ्यो । हामी ठुलाघरे पर्यौँ । परिवारमा सदस्य धेरै भएकाले घर पनि ठुलो । सदस्य पनि टन्नै । थानका थान लुगा घरमा ल्याइन्थ्यो । चन्दनपुरका साइला दाइले हाते कल बोकेर पिँढीमा राखेपछि हाम्रो दशैँ आउँथ्यो । लुगा छेकेपछि त खुशीले आकाशै छुन्थ्यो । कल आएको दुईतीन दिन बुढा गायबै हुने । अन्यत्र पनि लुगा सिलाउने चटारो हुँदो हो । ससाना बालबालिकाको लुगा सिलाउने पालो अन्तिममा पार्दा कहिलेकहीँ रिस पनि उठ्थ्यो । प्रतीक्षाको फल मिठो हुन्छ भने झैँ दशैँमा लगाउने लुगा तयार हुनु आफैँमा ठूलो उपलब्धि हुन्थ्यो । नयाँ लुगा लगाउने रहर त छँदै थियो, तर त्यसमा पनि हाम्रो विशेष ध्यान बुस्कोटको बगलीमा हुन्थ्यो ।
बुस्कोट सिलाउन दिँदा बगली ठूलो बनाउन लगाइन्थ्यो । बगली ठूलो हुनुको कारण अरू केही थिएन, दशैँमा टीका लगाउँदा पाइने चिउरा थाप्न सजिलो होस् भनेर । अहिले सम्झिँदा सामान्य लाग्ने त्यो कुरा त्यतिबेला हाम्रो प्राथमिकताको विषय थियो । कसैको बुस्कोटको बगली सानो भयो भने चिउरा धेरै नअटाउने चिन्ता हुन्थ्यो । त्यसैले लुगा सिलाउने बेलामै बगलीको आकारबारे विशेष चासो राखिन्थ्यो । बगली सानो भए लुगाको फेरोमा चिउरा थाप्नु पर्थ्यो । हामीलाई दक्षिणाभन्दा बगलीमा चिउरा थाप्ने हतार बढी हुन्थ्यो । दशैँको टीका लगाउन जाँदा घरघरबाट पाइने चिउरा जम्मा गर्ने आफ्नै प्रतिस्पर्धा हुन्थ्यो । बगली भरिँदै जाँदा मन पनि भरिएजस्तो लाग्थ्यो । कतै टीका लगाउन गइयो भने त्यहाँबाट कति चिउरा पाइन्छ भन्ने अनुमानसमेत गरिन्थ्यो होला सायद । त्यो उमेरमा चिउराको महत्त्व पैसा वा उपहारभन्दा कम थिएन । बगलीमा चिउरा अटाउनु भनेको दशैँ सफल हुनुजस्तै थियो ।
दक्षिणा पनि पाइन्थ्यो, तर अहिलेको जस्तो ठूलो रकमको अपेक्षा कहाँ हुनु र ! सुका मोहोर पाइन्थ्यो । ती मोहोर हातमा पर्दा हुने खुसीको तुलना अहिलेको पैसासँग गर्नै सकिँदैन । सानो सिक्का भए पनि त्यसको आफ्नै महत्त्व थियो । कसैले दक्षिणा दिँदा हात थाप्ने, पाएको पैसा सम्हालेर राख्ने र अरूले कति पाए भनेर चासो राख्ने बालसुलभ बानी पनि थियो । सुका मोहोरको मूल्य पैसामा जति थियो, सम्झनामा त्योभन्दा धेरै छ ।
दशैँको अर्को ठूलो आकर्षण थियो मामाघर । मामाघर जान पाउनु भनेको टीका लगाउनु मात्र थिएन, आफ्ना उमेरका दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्नु, रमाइलो गर्नु र अरू घरको दशैँ अनुभव गर्नु पनि थियो । त्यसैले टीका लगाउन मामाघर जाने कुरा उठ्नेबित्तिकै हामी तँसकमसक गर्न थाल्थ्यौँ । को जाने, को नजाने, कसलाई लैजाने भन्ने विषयले घरमै सानोतिनो विवाद जन्माउँथ्यो । हाम्रो परिवारमा सन्तान धेरै भएकाले होला, ममीले सबैलाई एकैपटक मामाघर लैजान सक्नुहुन्नथ्यो । घरको अवस्था, आउजाउको सहजता र अनेक व्यावहारिक कारणले सबैलाई सँगै लैजान सम्भव नहुँदो हो । तर, बालमनले ती बाध्यता कहाँ बुझ्थ्यो र ! आफू जान नपाइने भयो भने मन खिन्न हुन्थ्यो । अरू जाने भएपछि आफू पनि जानैपर्छ भन्ने लाग्थ्यो । कहिले मनाउने, कहिले जिद्दी गर्ने, कहिले रिसाउने । मामाघर जाने विषयमा हाम्रो बालसुलभ झगडा नै चल्थ्यो ।
अहिले ती दिन सम्झिँदा ममीको अवस्था बुझ्न सकिन्छ । धेरै सन्तानलाई सम्हालेर चाडपर्वको बन्दोबस्त मिलाउनु, सबैको रहर पूरा गर्न खोज्नु र घरको जिम्मेवारी निर्वाह गर्नु सजिलो थिएन । हामीले त्यतिबेला आफ्ना इच्छा मात्र देख्यौँ, उहाँका बाध्यता बुझेनौँ । आफूलाई मामाघर लैजान नसक्दा ममीलाई कस्तो लाग्थ्यो होला भन्ने प्रश्न अहिले मनमा आउँछ । बाल्यकालमा नपाएको एउटा अवसरको दुःख ठूलो लाग्थ्यो, तर, आमाले सबैलाई खुसी बनाउन गरेको प्रयासको मूल्य बुझ्ने उमेर थिएन ।
गाउँको दशैँमा पिङको आफ्नै महत्त्व थियो । पिङ हाल्ने काम सुरु भएपछि गाउँको वातावरण नै बदलिन्थ्यो । डोरी, बाँस र लिङ्गोको व्यवस्थादेखि पिङ तयार हुने बेलासम्म केटाकेटीमा बेग्लै उत्साह हुन्थ्यो । पिङ खेल्न पालो पर्खिनुपर्थ्यो । कसले धेरै मच्चाउने, कसले अग्लो पुग्ने र कसले लिङ्गोको टुप्पोमा बाँधिएको फुर्को छुने भन्ने प्रतिस्पर्धा चल्थ्यो । पिङमा मच्चिनु मात्र हाम्रो लक्ष्य थिएन, लिङ्गोको फुर्को छुन सक्नु पनि बहादुरीको विषय हुन्थ्यो । पिङ जति माथि पुग्थ्यो, मनमा त्यति नै उत्साह बढ्थ्यो। साथीहरूले पिङ मच्चाउँदा एकअर्कालाई हौस्याउने, आफ्नो पालो आउँदा अरूभन्दा अग्लो पुग्ने प्रयास गर्ने र फुर्को छुने दाबी गर्ने क्रम चलिरहन्थ्यो । कसैले फुर्को छोयो भने उसको चर्चा हुन्थ्यो । नछुनेले अर्को पटक अझै जोड लगाउने प्रण गर्थ्यो । तर, पिङको त्यो रोमाञ्चकता सधैँ सहज भने थिएन । कहिलेकाहीँ मच्चाउने क्रममा पिङ फर्कन्थ्यो । त्यतिबेला डर, होहल्ला र भागदौड एकैपटक हुन्थ्यो । अहिले सम्झिँदा जोखिमपूर्ण लाग्ने त्यस्ता क्षण पनि बाल्यकालको दशैँका अविस्मरणीय घटनामध्ये पर्छन् । हामीलाई त्यसबेला सावधानीभन्दा रमाइलो ठूलो लाग्थ्यो । पिङ खेल्न पाउनु नै जित थियो, अनि फुर्को छुन सक्नु त झन् ठूलो सफलता ।
कालेश्वरको गाउँले परिवेशमा दशैँ घरभित्र मात्रै सीमित चाड थिएन । छरछिमेकमा भेटघाट हुन्थ्यो, आफन्तका घरमा आउजाउ चल्थ्यो र गाउँका बाटाघाटा तथा बस्तीमा चाडको रौनक देखिन्थ्यो । वर्षभरि आआफ्नो काममा व्यस्त रहने मानिसहरू दशैँका बेला एकअर्कासँग भेट्ने, सुखदुःख साट्ने र पारिवारिक सम्बन्धलाई नवीकरण गर्ने अवसर पाउँथे । गाउँको जीवनमा त्यतिबेला साधनस्रोत सीमित थिए, तर आपसी सम्बन्ध र सामूहिक सहभागिताले चाडलाई विशेष बनाउँथे । आजको समयसँग तुलना गर्दा बाल्यकालको दशैँमा सुविधा कम थिए । चाहेका सबै कुरा सजिलै पाइँदैनथे । नयाँ लुगा, मिठो खानेकुरा, मामाघरको यात्रा र पिङको पालो हरेक कुराका लागि प्रतीक्षा गर्नुपर्थ्यो । तर, सायद त्यही प्रतीक्षाले खुसीलाई गहिरो बनाउँथ्यो । अहिले चाहेको कुरा तत्काल पाउन सकिन्छ, तर त्यसका लागि पहिले जस्तो लामो उत्सुकता र सामूहिक उमङ्ग सधैँ अनुभव हुँदैन ।
त्यतिबेलाको दशैँमा बुस्कोटको बगली ठूलो बनाउनुको अर्थ आज बुझ्दा त्यो चिउरा अटाउने ठाउँको कुरा रहेनछ । त्यो अभावबिच पनि खुसी खोज्ने बालमनको प्रतीक रहेछ । सुका मोहोरले हामीलाई सम्पन्न बनाउँदैनथे तर आफ्नै सानो संसारमा धनी भएको अनुभूति दिन्थे । मामाघर जान नपाउँदाको रिसले पारिवारिक माया कति गहिरो थियो भन्ने देखाउँथ्यो । पिङको फुर्को छुने होडले सानै कुरामा पनि सपना देख्ने र त्यसका लागि प्रयास गर्ने स्वभाव सिकाउँथ्यो ।
समयले हामीलाई बाल्यकालबाट टाढा ल्याएको छ । कालेश्वरको त्यो परिवेश, दशैँको प्रतीक्षा, ममीसँग मामाघर जान तँसकमसक गरेको क्षण, बुस्कोटको ठूलो बगली र पिङको फुर्को छुने प्रतिस्पर्धा अब सम्झनामा मात्र बाँकी छन् । तर, ती सम्झना पुराना भएर फिक्का भएका छैनन् । बरु उमेर बढ्दै जाँदा तिनको महत्त्व झन् बढेको छ । आज दशैँ आउँदा नयाँ लुगा र दक्षिणाको हिसाबभन्दा पहिले ती दिन सम्झन मन लाग्छ । मनले फेरि त्यही बाल्यकालमा फर्किन खोज्छ, जहाँ थोरै चिउराले बगली भरिन्थ्यो, सुका मोहोरले अनुहार उज्यालो हुन्थ्यो र मामाघर जान पाउनु संसारकै ठूलो खुसी लाग्थ्यो । सायद बाल्यकालको दशैँको सुन्दरता यही थियो-खुसीका लागि धेरै कुरा चाहिँदैनथे । एउटा ठूलो बगली, केही चिउरा, सुका मोहोर, मामाघर जाने रहर र गाउँको पिङ भए पुग्थ्यो । आज ती कुरा सम्झँदा लाग्छ, दशैँको वास्तविक सम्पत्ति हामीले त्यतिबेला पाएका चिउरा र मोहोर मात्र थिएनन् तीसँग गाँसिएका माया, प्रतीक्षा, सम्बन्ध र निष्कपट खुसी थिए । त्यही भएर आज पनि बाल्यकालको दशैँ सम्झिँदा मनले भन्छ-दक्षिणाभन्दा बगलीमा चिउरा थाप्न हतार हुने ती दिन नै कति सुन्दर थिए ! (फोटोः एआइ जेनेरेटेड)