मानव आवाज

२०८३ भदौ २४ गते
00: 00: 00
२०८३ भदौ २४ गते

पुम्दी-भुम्दी पर्वतीय दौड २०८३ असोज २४ गते

पोखरा । पुम्दी-भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तेस्रो संस्करण आगामी २०८३ असोज २४ गते शनिबार हुने भएको छ ।

यसअघि २०८३ असोज १० गते आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सारिएको हो ।

भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति हुनुका साथै पोखरा-काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक भासिएर पृथ्वीराजमार्ग प्रभावित भएपछि निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न कठिन हुने अवस्था देखिएपछि मिति सारिएको पोखरा प्रवर्धन केन्द्रका अध्यक्ष तथा प्रतियोगिता संयोजक दिननाथ बरालले जानकारी दिनुभयो ।

प्रतियोगितालाई थप व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्ने गरी तयारीलाई केही समय स्थगित गरी पुनः सक्रिय रूपमा अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।  

विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि राज्यले अघि सारेको अभियानमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि खेलाडी दर्ता असोजको पहिलो सातादेखि खुला गर्ने तयारी गरिएको छ। खेलाडीहरूले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्ने केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।

हरेक वर्ष विश्व पर्यटन दिवसको अघिल्लो शनिबार आयोजना हुँदै आएको प्रतियोगिता यसपटक भने नेपालीहरूको महान् पर्व विजया दशमी तथा घटस्थापनाको अघिल्लो शनिबार पार्ने गरी २०८३ असोज २४ गते आयोजना गर्न लागिएको पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो ।

यस वर्ष विश्व पर्यटन दिवस २०८३ असोज ११ गते आइतबार परेको छ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रमलाई केन्द्रले सहयोग गर्ने जनाएको छ ।

पुम्दी-भुम्दी क्षेत्रको पर्यटन प्रवर्धनसँगै खेल पर्यटनलाई जोड्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा देश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी गरिएको छ । गत वर्षको प्रतियोगितामा सात देशका १ सय ६७ जना धावक सहभागी भएका थिए ।

यस वर्षको प्रतियोगितालाई विगतभन्दा अझ व्यवस्थित बनाउँदै पुम्दी-भुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई खेल तथा साहसिक पर्यटनसँग जोड्ने आयोजकको तयारी छ ।

प्रतियोगिताले पुम्दी-भुम्दीको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, पदमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिता खुला विधासहित ६ ओटा इभेन्ट सञ्चालन हुनेछ । खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार