मानव आवाज

२०८३ भदौ २३ गते
00: 00: 00
२०८३ भदौ २३ गते

विपद् प्रभावित ३५० परिवारलाई चिल्ड्रेन-नेपालको राहत

पोखरा । विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका ३ सय ५० परिवारलाई श्रमिक बालबालिकाहरूको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल)ले राहत सामग्री वितरण गरेको छ ।

शान्ति, बालअधिकार प्रवर्धन, महिला सशक्तीकरण, जलवायु परिवर्तन तथा स्थानीय दिगो विकासका क्षेत्रमा कार्यरत चिल्ड्रेन-नेपालले विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भदौ २१ देखि २३ गतेसम्म राहत सामग्री वितरण गरेको हो ।

संस्थाले नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित परिवारलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्रीलगायतका राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

किस्पाङ गाउँपालिकाको समन्वय तथा सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिकको रोहबरमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको चिल्ड्रेन-नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्का कारण तत्काल आवश्यकतामा रहेका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो ।

राहत वितरणका क्रममा संस्थाका अध्यक्ष शान्ता पौडेलको नेतृत्वमा कोषाध्यक्ष कुलप्रसाद पौडेल, कार्यकारी निर्देशक शर्मा, कार्यक्रम निर्देशक शिव शर्मा चापागाईं, वरिष्ठ अधिकृत हरि पोखरेल, कार्यक्रम संयोजक दुमनाथ शर्मा तथा चालक सन्तोष नेपाली सहभागी हुनुभएको थियो ।

राहत वितरणसँगै चिल्ड्रेन-नेपालको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको थियो ।

अनुगमनका क्रममा प्रभावित परिवारको अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा तत्काल आवश्यकताबारे जानकारी लिइएको संस्थाले जनाएको छ ।

“विपद्को पीडा कुनै एक व्यक्ति वा परिवारको मात्र पीडा होइन ।”-चिल्ड्रेन-नेपालले भनेको छ-“यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक संस्थाको मानवीय दायित्व पनि हो ।”

संस्थाले बाढी प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपियाँसमेत सहयोग गरिसकेको जनाएको छ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार