मानव आवाज

२०८३ भदौ २२ गते
00: 00: 00
२०८३ भदौ २२ गते

सुनकोशी नदी किनारका दर्जनौँ बस्ती बाढी र कटानको उच्च जोखिममा

सिन्धुली । सुनकोशी नदी किनारमा बसोबास गर्दै आएका दर्जनौँ गाउँबस्ती बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा रहेका छन् ।

बीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग आसपासका सुनकोशी नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र जोखिममा पर्दै आएको छ ।

सुनकोशी नदीसँग जोडिएका नेपालथोक, मुलकोट, खुर्कोट, ग्वालटार, च्याउटार, बेँसी, पोखरी हुँदै पूर्वको घुर्मीसम्मका बस्ती वर्षायाममा बाढी र नदी कटानको जोखिममा पर्ने गरेका छन् ।

नदीको बहाव बढ्दा किनारमा रहेका घर, सडक, होटल तथा व्यापारिक संरचनामा क्षति पुग्ने गरेको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार बताउनुहुन्छ ।

२०८१ साल असोजमा रोशी खोलामा आएको ठूलो बाढीका कारण सुनकोशी नदीमा पानीको बहाव बढ्दा नेपालथोक, मुलकोट, खुर्कोट र देउरालीलगायतका क्षेत्रमा डुबान तथा कटान भएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

अविरल वर्षापछि आएको बाढीले सडक, घर तथा व्यापारिक संरचनामा क्षति पुर्‍याएको थियो । मन्थली-खुर्कोट सडकखण्डलाई जोड्ने सुनकोशी नदीमाथिको खुर्कोटस्थित पक्की पुल र नेपालथोकबाट खाँडादेवीतर्फ जाने पक्की पुलसमेत बाढीले बगाएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।

बाढी तथा पहिरो गएको दुई वर्ष बित्न लाग्दा पनि मुलकोट र खुर्कोटका प्रभावित स्थानीय पुरानै स्थानमा बसोबास तथा व्यापार गर्दै आएका छन् ।

जोखिमबारे जानकारी हुँदाहुँदै पनि सुरक्षित स्थानको अभाव, जीविकोपार्जनको समस्या तथा पर्याप्त सरकारी पहल नहुँदा उनीहरू स्थानान्तरण हुन नसकेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको भनाइ छ ।

गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार सुनकोशी नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई जोखिमबारे जानकारी भए पनि तत्काल सुरक्षित स्थानमा सर्न सक्ने अवस्था छैन ।

विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको दीर्घकालीन योजना आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

“विपद्लाई न्यूनीकरण गर्न र नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक योजना बनाउनुपर्छ ।”-उपाध्यक्ष न्यौपानेले मानव आवाजसँग भन्नुभयो- “सरकारले बस्तीयोग्य जमिन, खानीयोग्य जमिन र कृषियोग्य जमिन भनेर वर्गीकरण गरी सोहीअनुसार नयाँ र सुरक्षित बस्ती बसाउनुपर्छ ।”

भैपरी आउने विपद्का बेला समयमै सूचना दिन साइरनजडित उपकरणलाई सक्रिय अवस्थामा राख्नुपर्ने उहाँको भनाइ छ ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना पुर्‍याउने र आपत्कालीन अवस्थामा कहाँ जाने भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल बताउनुहुन्छ ।

उहाँका अनुसार सुनकोशी नदी किनारमा सडक तथा अन्य संरचना निर्माण गर्दा जोखिमको दीर्घकालीन मूल्याङ्कन गरिनुपर्छ ।

सुनकोशी नदीको प्राकृतिक बहावलाई असर पर्ने गरी संरचना निर्माण गर्दा भविष्यमा बाढी तथा नदी कटानको जोखिम अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

“नदी तटीय क्षेत्र जुनसुकै समयमा बगाउन सक्ने भएकाले स्थानीयवासी स्वयम् पनि जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नु हुँदैन ।”-उपाध्यक्ष बरालले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, अत्यधिक वर्षा तथा आकस्मिक बाढीजस्ता घटना बढ्दै जाँदा त्यसको असर तल्लो तटीय क्षेत्रमा समेत पर्ने जोखिम रहेको गोलन्जोर गाउँपालिका-१ का वडाध्यक्ष सोमप्रसाद बराल बताउनुहुन्छ ।

सुनकोशी तथा अन्य नदी किनारका बस्तीमा वर्षेनी दोहोरिने बाढीको जोखिमले थप चुनौती निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

वर्षेनी बाढीको जोखिम दोहोरिँदै गए पनि विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुनेभन्दा जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने स्थानीयको माग छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार