मानव आवाज

२०८३ भदौ १८ गते
00: 00: 00
२०८३ भदौ १८ गते

भोटेकोशी बाढीपीडितका लागि सिन्धुलीबाट सहयोग

सिन्धुली । भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ ।

यसै क्रममा सिन्धुलीको कमलामाई नगरपालिका-९, भीमानस्थित कमला एकेडेमी स्कुलले बाढीपीडितको राहतका लागि १ लाख १३ हजार रुपियाँ सहयोग गरेको छ ।

विद्यालयका प्रिन्सिपल डम्बरबहादुर श्रेष्ठले विपत्तिमा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

त्यसैगरी कमलामाई नगरपालिका-९, भीमानस्थित बी एन्ड बी हार्डवेयरका प्रोप्राइटर विष्णु न्यौपानेले बाढीपहिरो प्रभावित नागरिकका लागि ५ हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ ।

न्यौपानेले सानो भए पनि आफ्नो सहयोगले बाढीपहिरो प्रभावित नागरिकका लागि राहत वितरणमा योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

सुनकोशी गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

गाउँपालिकाका अनुसार उक्त रकम गाउँपालिकामा कार्यरत कर्मचारी तथा गाउँपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाबाट सङ्कलन गरिएको हो ।

गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट ४ लाख १७ हजार ७ सय २२ रुपियाँ तथा शिक्षकशिक्षिकाबाट ९ लाख १५ हजार ६ सय ११ रुपियाँ सङ्कलन भएको थियो ।

दुवै शीर्षकबाट सङ्कलित १३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट २ लाख रुपियाँ राहत तथा उद्धार कार्यमा खर्च गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको तर्फबाट ६/६ हजार रुपियाँ, वडा अध्यक्षहरूबाट ५/५ हजार रुपियाँ, कार्यपालिका सदस्यहरूबाट २/२ हजार रुपियाँ तथा वडा सदस्यहरूबाट १/१ हजार रुपियाँ व्यक्तिगत रूपमा सहयोग गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार