सिन्धुली । तीनपाटन गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि विपद् व्यवस्थापन कोषबाट ५० लाख रुपियाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।
तीनपाटन गाउँ कार्यपालिकाको २०८३ भदौ १८ गते बसेको बैठकले बाढी प्रभावितलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले जानकारी दिनुभयो ।
बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक तहका शिक्षकको सात दिन बराबरको तलबभत्ता राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै, वडाध्यक्ष, निम्न माध्यमिक तहका शिक्षक तथा पाँचौँ र चौथो तहका कर्मचारीको पाँच दिन बराबरको तलबभत्ता राहतका लागि उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर अशोक पुलामीले जानकारी दिनुभयो ।
त्यसैगरी वडा सदस्य तथा अन्य कर्मचारीको दुई दिन बराबरको तलबभत्ता भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपाध्यक्ष पुलामीले बताउनुभयो ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले राहत सहयोग र जनप्रतिनिधि तथा कर्मचारीको तलब–भत्ताबाट समेत योगदान गर्ने निर्णय गरेको जनाएको छ ।