मानव आवाज

२०८३ भदौ १९ गते
00: 00: 00
२०८३ भदौ १९ गते

बाढीपीडितका लागि सिन्धुली निर्माण व्यवसायी सङ्घको सहयोग

सिन्धुली । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिन्धुली निर्माण व्यवसायी सङ्घले १ लाख ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

सङ्घमा आबद्ध निर्माण व्यवसायी तथा सदस्यहरूबाट सङ्कलन गरिएको उक्त रकम २०८३ भदौ १८ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष उद्धव दाहालले जानकारी दिनुभयो ।

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने अभियानअन्तर्गत निर्माण व्यवसायीहरूले रकम सङ्कलन गरेका हुन् ।

बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले सङ्घको तर्फबाट सहयोग गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

चीनतर्फको हिमाली क्षेत्रमा आएको बाढी तथा त्यसपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढ्दै गएपछि विभिन्न सङ्घसंस्था, व्यवसायी, नागरिक तथा सामाजिक क्षेत्रबाट सहयोग घोषणा तथा सङ्कलन भइरहेको सङ्घले जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्माण व्यवसायी सङ्घले सङ्कलन गरेको रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

विपद्का बेला राज्यको प्रयाससँगै निजी क्षेत्र तथा व्यवसायी समुदायबाट हुने सहयोगले प्रभावित नागरिकको राहत र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार