सिन्धुली । रसुवा जिल्लाका बाढीपीडित नागरिकको उद्धार तथा राहतका लागि सिन्धुली कारागारमा रहेका ३ सय ७९ जना कैदीबन्दीले १ लाख ६० हजार रुपियाँ सहयोग गरेका छन् ।
कैदीबन्दीहरूले व्यक्तिगत रूपमा रकम सङ्कलन गरी २०८३ भदौ १६ गते राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरेका हुन् ।
कारागार कार्यालय, सिन्धुलीका अनुसार विपद्को कठिन परिस्थितिमा बाढीपहिरो प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कैदीबन्दीहरूले आफ्नै तर्फबाट रकम सङ्कलन गरेका हुन् ।
सहयोग रकम कोषमा जम्मा गरिएको बैङ्क भौचरसमेत सार्वजनिक गरिएको कारागार कार्यालयले जनाएको छ ।
विपद्का समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्दै कैदीबन्दीहरूले गरेको सहयोग प्रशंसनीय र अनुकरणीय रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा रहेका व्यक्तिहरूले समेत समाजमा आइपर्ने विपद्का बेला पीडित नागरिकको दुःखमा साथ दिन सकिन्छ भन्ने सन्देश यो सहयोगले दिएको कार्यालयको भनाइ छ ।
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।
बाढीपीडितको उद्धार तथा राहतका लागि सङ्कलित सहयोगले विपद्का समयमा मानवीयता, सहकार्य र सामाजिक उत्तरदायित्व सबैको साझा दायित्व भएको सन्देश दिएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनजीवन प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएको बताउनुभयो ।
उहाँले बाढीपहिरोबाट विस्थापित नागरिकलाई राहत उपलब्ध गराउन सिन्धुली कारागारका कैदीबन्दीले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार सिन्धुलीका गाउँपालिका तथा नगरपालिका, सरकारी कार्यालय, सङ्घसंस्था र विभिन्न व्यक्तित्वहरूले समेत बाढी प्रभावित नागरिकका लागि राहत सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै आएका छन् ।
उहाँले राहत सङ्कलनका नाममा कुनै व्यक्ति वा समूहले अनधिकृत रूपमा चन्दा असुली गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो ।