सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा गरेको छ ।
२०८३ भदौ १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था, चुनौती तथा सुधार गर्नुपर्ने पक्षका विषयमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेललगायत स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा गाउँपालिकाका नागरिकलाई थप प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य तथा नागरिकमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आगामी आर्थिक वर्षका प्राथमिकता, योजना तथा कार्यक्रमबारे छलफल गरिएको उपाध्यक्ष बिमला माझीले बताउनुभयो ।
स्वास्थ्य सूचक, सेवा प्रवाह र कार्यसम्पादनका आधारमा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको मूल्याङ्कनसमेत गरिएको थियो ।
मूल्याङ्कनमा मरिण आधारभूत अस्पताल प्रथम, आधारभूत स्वास्थ्य केन्द्र जयमङ्गल द्वितीय तथा कल्पवृक्ष स्वास्थ्य चौकी र बरुण स्वास्थ्य इकाई तृतीय भएका छन् ।
उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई कार्यक्रममा सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख मधु लाखेले स्वास्थ्य सेवाको समग्र सुधार, गुणस्तरीय सेवा सुनिश्चितता तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन वार्षिक समीक्षा र योजना तर्जुमा कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।