पोखरा । गिद्ध संरक्षण, वातावरण संरक्षण तथा स्थानीयस्तरमा गिद्धको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा विभिन्न कार्यक्रम आयोजना गरी १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।
जटायु गिद्ध रेस्टुरेन्ट तथा गौ–रक्षा केन्द्र व्यवस्थापन समितिको आयोजनामा २०८३ भदौ २० गते आयोजित कार्यक्रममा गिद्ध संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।
कार्यक्रमले घाचोक क्षेत्रमा गिद्ध संरक्षणका लागि भइरहेको स्थानीय प्रयासलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा संरक्षण अभियानलाई निरन्तरता दिने सन्देश दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख लेखनाथ गौतमले घाचोक क्षेत्रमा हिमाली गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्धलगायत विभिन्न प्रजातिका गिद्ध अवलोकन गर्न सकिनु सकारात्मक भएको बताउनुभयो ।
सोही अवसरमा कर्मफ्लाइट्स फाउण्डेसन नेपालको सहयोगमा तयार गरिएको गिद्ध तथा संरक्षणसम्बन्धी सूचना बोर्डको उद्घाटन गरिएको थियो ।
कर्मफ्लाइट्स फाउण्डेसन नेपालका कार्यक्रम संयोजक राजु परियारले घाचोक आउने स्थानीय तथा बाह्य पर्यटक, विद्यार्थी र पक्षीप्रेमीलाई गिद्ध तथा गौरक्षासम्बन्धी संरक्षण सन्देश प्रवाह गर्ने उद्देश्यले हेम्जाको मेलबोट, घाचोकको भलायबोटलगायत क्षेत्रमा तीनवटा होर्डिङ बोर्ड राखिएको बताउनुभयो ।
यस्ता सूचना बोर्डले गिद्ध संरक्षण तथा गौरक्षाका लागि जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जटायु गिद्ध रेस्टुरेन्टका पूर्वअध्यक्ष राजाराम पौडेलले गिद्ध संरक्षण एउटा प्रजातिको संरक्षणमा मात्र सीमित नभई प्रकृति, जैविक विविधता र स्वस्थ वातावरणको संरक्षणसँग जोडिएको विषय भएको बताउनुभयो ।
उहाँले स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण संस्था तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यसैगरी, संस्थापक अध्यक्ष रवि पोखरेलले घाचोकमा सञ्चालन हुँदै आएको जटायु गिद्ध रेस्टुरेन्ट तथा गौरक्षा केन्द्रले सुरक्षित आहार व्यवस्थापन, गिद्ध संरक्षण, जनचेतना तथा समुदायमा आधारित संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रमका क्रममा गिद्ध गणना तथा अवलोकनसमेत गरिएको थियो ।
जटायु गिद्ध रेस्टुरेन्ट तथा गौरक्षा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अमृतज्यू ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मनिष पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, प्रहरी, पंक्षी तथा प्रकृतिप्रेमी र संरक्षणकर्मीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो । (गिद्धको फोटोः नेशनल जोग्राफी)