मानव आवाज

२०८३ भदौ २० गते
00: 00: 00
२०८३ भदौ २० गते

रोट्रयाक्ट क्लबद्वारा विद्यालयलाई १० थान पङ्खा सहयोग

पोखरा । यस वर्षको रोट्रयाक्टको थिम ‘हेल्प एण्ड हिल’ लाई आत्मसात् गर्दै रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका-२५, हेम्जास्थित श्री बालकल्याण आधारभूत विद्यालयलाई १० थान पङ्खा सहयोग गरेको छ ।

क्लबले आफ्नो नयाँ पहल ‘रोट्रयाक्ट शीतल’ अन्तर्गत विद्यालयलाई सिलिङ र वाल पङ्खा प्रदान गरेको हो ।

२०८३ भदौ १८ गते आयोजित कार्यक्रममा क्लबका वर्ष २०२६/२७ का अध्यक्ष रोट्रयाक्ट इन्जिनियर नबिनचन्द्र थापाले विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीलाई करिब ३० हजार रुपियाँ बराबरका पङ्खा हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष थापाले रोट्रयाक्टको यात्रामा नयाँ अध्याय थप्दै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताउनुभयो ।

उहाँले गर्मीमा विद्यार्थीलाई केही राहत, दैनिक सिकाइमा सहजता र सेवाको अनुभूति बाँड्ने उद्देश्यले कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।

पङ्खा वितरणलाई सहयोगमा मात्र सीमित नगरी विद्यार्थीका लागि सहज र शीतल सिकाइ वातावरण निर्माण गर्ने प्रयासका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले सेवा सहयोगमा मात्र सीमित नभई समाज परिवर्तनको संवाहक बन्नुपर्ने बताउँदै विद्यालयलाई आवश्यक सामग्री सहयोग गरेकोमा रोट्रयाक्ट क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

सामाजिक अभियन्ता मदन थापाले बालबालिकाले अध्ययन गर्ने विद्यालयमा क्लबले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन इन्जिनियर सवल ढकालले गर्नुभएको थियो ।

Author

सम्बन्धित समाचार