पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरा महानगरपालिका-६, लेकसाइड स्ट्रीट नं. १७ स्थित होटल क्विन्स पार्क प्रालिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख २१ हजार ८ सय ७६ रुपियाँ सहयोग गरेको छ । होटलले उक्त रकम बैङ्कमार्फत प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको हो ।
२०८३ भदौ १८ गते होटलका प्रबन्ध निर्देशक शिव केसीले होटलले नाफा आर्जनलाई मात्र प्राथमिकता नदिई सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको जानकारी दिनुभयो ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको छ ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेकाले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गरेको केसीले बताउनुभयो ।
उहाँले विपद्को समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।