पोखरा । पोखरामा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
प्रशासनले पोखरा महानगर क्षेत्रका विभिन्न ग्यास डिपोमा अनुगमन गर्दै ग्यासको आपूर्ति, मौज्दात तथा वितरण अवस्थाबारे जानकारी लिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदाम र सञ्चारकर्मीको संयुक्त सहभागितामा २०८३ भदौ १८ गते पोखराका तीन ओटा ग्यास डिपोमा स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा भण्डारी ट्रेडर्सका सञ्चालक कृष्ण भण्डारीले पहिले मासिक करिब ११ हजार सिलिन्डर ग्यास आउने गरेकोमा हाल करिब ६ हजार मात्र आपूर्ति भइरहेको जानकारी दिनुभयो ।
यस्तै, डिएनआर ट्रेडर्सका सञ्चालक नारायण पौडेलले पहिले मासिक करिब ३ हजार सिलिन्डर ग्यास आउने गरेकोमा अहिले १ हजार ७ सय सिलिन्डर मात्र आपूर्ति भइरहेको बताउनुभयो ।
हिरास ट्रेडर्समा पनि ग्यासको आपूर्ति घटेको जानकारी दिइएको थियो । अनुगमन गरिएका तीन डिलरमध्ये दुई ओटामा ग्यासको मौज्दात भेटिएन भने डिएनआर ट्रेडर्समा ५४ ओटा भरिएका ग्यास सिलिन्डर भेटिएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले होटल तथा खाजा घरलाई आवश्यकताभन्दा बढी ग्यास नदिन र सकेसम्म धेरै उपभोक्ताले सहज रूपमा ग्यास पाउने गरी वितरण व्यवस्थापन गर्न डिलरहरूलाई निर्देशन दिनुभयो ।
बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन प्रशासनले अनुगमनलाई तीव्रता दिएको बरालले बताउनुभयो ।
उहाँले ग्यास लुकाउने वा कालोबजारी गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।
होटल तथा खाजा घरले आवश्यकताभन्दा बढी ग्यास थुपार्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै अधिकांश उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने गरी वितरण व्यवस्था मिलाउन डिलरहरूलाई कडा निर्देशन दिइएको उहाँले बताउनुभयो ।
कास्की प्रशासनले पोखरा बाहिर रहेका सम्बन्धित ग्यास उद्योगसँग समेत समन्वय गरी जिल्लामा ग्यासको आपूर्ति सहज बनाउन पहल गरिरहेको बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै पसल वा स्थानमा ग्यास लुकाएर राखेको वा कालोबजारी गरेको पाइएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न आग्रह गरिएको छ । दोषी भेटिए कानुनी दायरामा ल्याइने प्रशासनले जनाएको छ ।