पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरेली सहयोगी हातहरू थपिँदै गएका छन् ।
यसै क्रममा शान्ति, बालअधिकार प्रवर्धन, महिला सशक्तीकरण, जलवायु परिवर्तन तथा स्थानीय दिगो विकासका क्षेत्रमा कार्यरत श्रमिक बालबालिकाहरूको सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन-नेपाल) र पद्म नर्सिङ होम प्रालिले आर्थिक सहयोग गरेका छन् ।
चिल्ड्रेन-नेपालले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ ।
संस्थाले रकम जम्मा गरेको बैङ्क भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बुझाएको हो ।
२०५२ सालमा स्थापना भएको संस्थाले २०८३ भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम जम्मा गरेको संस्थाका महासचिव जयन्द्र भट्टराईले जानकारी दिनुभयो ।
संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक सामग्री नेपाल सरकारको नीति अनुरूप सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी सहयोग गरिएको बताउनुभयो ।
उहाँले विपद्को यस विषम परिस्थितिमा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
यसैगरी, विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा महानगरपालिका-४, नदीपुरस्थित पद्म नर्सिङ होम प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ ।
पद्म नर्सिङ होमका अध्यक्ष यादव गौतमले प्राकृतिक विपद्को दुःखद् घडीमा पीडित परिवारको दुःखमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनु आफ्नो सामाजिक दायित्व भएको महसुस गर्दै उक्त रकम राहत कोषमा जम्मा गरिएको बताउनुभयो ।
संस्थाका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएको र ठूलो जनधनको क्षति भएकामा पद्म नर्सिङ होमले दुःख व्यक्त गरेको बताउनुभयो । उहाँले मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
पद्म नर्सिङ होमका सुपरभाइजर धिरज गौतमले कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सानो भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संस्थाको परिवार सामाजिक उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।