मानव आवाज

२०८३ भदौ १३ गते
00: 00: 00
२०८३ भदौ १३ गते

पोखरा ल्याइएका १०१ शवमध्ये तीनको पहिचान, एक शव आफन्तलाई हस्तान्तरण

पोखरा । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा २०८३ भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १ सय १ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । तीमध्ये दुई शवको पहिचान खुलेको छ भने एक शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालका अनुसार २०८३ भदौ १२ गते साँझ साढे ६ बजेसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १ सय १ शवमध्ये ५७ जनाको फिङ्गरप्रिन्ट लिने तथा सरसफाइको काम सम्पन्न भएको छ ।

त्यस्तै, २० शवको पोस्टमार्टम सम्पन्न भएको छ भने दुई शवको पहिचान खुलेको र एक शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।

तीन शवको पहिचान

नवलपरासी जिल्लामा फेला पारेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको शवमध्ये शव नम्बर ६ को पहिचान भएको छ ।

उक्त शव नवलपरासी सुस्ता नगरपालिका-१ का ३७ वर्षीय यादव भण्डारीको रहेको दाजु चुडामणि भण्डारीले पहिचान गर्नुभएको हो । भण्डारी अध्यागमन कार्यालय, टिमुरे, रसुवामा अधिकृतका रूपमा कार्यरत रहेको जनाइएको छ ।

त्यस्तै, नवलपरासीको देवचुलीमा फेला पारेर प्रतिष्ठान ल्याइएको शव नम्बर २ को पनि पहिचान खुलेको छ ।

उक्त शव अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का ४७ वर्षीय नारायण थापाको रहेको पत्नी कमला थापाले पहिचान गर्नुभएको हो । थापा नीलकण्ठ माध्यमिक विद्यालय, बेत्रावतीमा शिक्षकका रूपमा कार्यरत रहेको जनाइएको छ ।

एक शव आफन्तलाई हस्तान्तरण

धादिङ जिल्लामा फेला पारेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको ट्याग नम्बर ७ को शव पनि पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको छ ।

उक्त शव भक्तपुर नगरपालिका-९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको रहेको पहिचान खुलेपछि भाइ सत्यकृष्ण प्रजापतिले बुझ्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले पहिचान भएका शवमध्ये एक शव आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर पहिचान तथा पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार