पोखरा । पोखरा महानगरपालिका-७ मेयर हर्कचोक (पुरानो एयरपोर्ट) मा नालीको भेलले बगाउँदा आमा-छोरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार भदौ १२ गते दिउँसो करिब ४ बजे स्कुटर साइड लगाउने क्रममा पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रानीका दाहाल नालीमा खसेका थिए ।
सुष्माका पति कमल दाहालले बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गर्दा वर्षाका कारण स्कुटर साइड लगाएर झर्ने क्रममा उक्त घटना भएको बताउनुभयो ।
स्कुटरबाट झर्ने क्रममा छोरी नालीको भेलमा खसेपछि छोरीलाई समाउन खोज्दा आमा पनि भेलमा बगेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा खटिएको २१ जना प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा पोखरा-१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारपछि आमाछोरीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । बाहिरी चोटपटक स्पष्ट नदेखिए पनि दुवैको उपचार भइरहेको छ ।
प्रहरीले वर्षायाममा पानीको भेल, नाली तथा डुबान भएका सडकमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सानो असावधानीले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले जोखिमयुक्त स्थानमा सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।