आमाको काखमा फुलेकी थियौ,
मायाको दीप बनेकी थियौ,
‘आमा’ भन्दै बोली सिक्दै थियौ,
संसारकै फूल बनेकी थियौ ।
ती कोमल पाइलामा कहाँ थियो दोष ?
त्यो निश्चल आँखामा कहाँ थियो रोष ?
किन निर्दयी भयो मानवको भेष ?
किन मौन भयो न्यायको देश ?
गरिमा ! तिम्रो मौन चित्कार,
आज पनि गर्छ हृदयमा प्रहार ।
तिम्रो नबोलेको त्यो प्रश्न हजार-
“छोरी हुनु नै हो त मेरो अपराध ?”

कति छोरी रोएपछि चेत्ने हो समाज ?
कति काख रित्तिएपछि जाग्ने हो समाज ?
कति निर्दोष ढलेपछि लाग्ने हो समाज ?
कहिले सकिन्छ अब अन्यायको यो राज ?
निर्मलाको आँसु अझै सुक्न पाएन,
भागीरथीको पीडा अझै मेटिन पाएन,
पूजाको घाउ समयले छोप्न पाएन,
गरिमाको प्रश्नले पनि उत्तर पाएन ।
हे राज्य ! तिम्रो कानुन कहाँ छ आज ?
हे शासन ! तिम्रो न्याय कहाँ छ आज ?
अबोध छोरीको सुरक्षाभन्दा ठूलो के छ आज ?
कहिलेसम्म मौन बस्छौ-देऊ जबाफ आज !
आमाको मुटुमा बज्र पर्यो होला,
काखको फूल झर्दा संसार अँध्यारो भयो होला,
छोरीको नाम पुकार्दा स्वर रोकियो होला,
आँखाभरि आँसु, मुटुभरि घाउ भयो होला ।
नारी हुनु पाप होइन,
छोरी हुनु श्राप होइन,
उसको हाँसो अपराध होइन,
उसको जीवन कसैको खेल होइन ।
हाम्रो धर्म कहाँ हरायो ?
मानवताको दीप कहाँ निभायो ?
संस्कारको अर्थ कसले भुलायो ?
अबोध छोरीको आँसु कसले पुछायो ?
गरिमा ! तिमी आज शरीरमा छैनौ,
तर चेतनाको दीप बनेर गएकी छौ,
अन्यायविरुद्ध उठ्ने हरेक आवाजमा
आफ्नो अमिट छाप छोडेर गएकी छौ ।
अब तिम्रो नाममा शोक मात्र होइन,
न्यायको शङ्ख बज्नुपर्छ,
छोरीको सुरक्षाका लागि
समाज फेरि जाग्नुपर्छ ।
अपराधीको मनमा कानुनको डर होस्,
हरेक छोरीको जीवनमा उज्यालो भर होस्,
आमाको काखमा फेरि हाँसोको लहर होस्,
कुनै गरिमाको कथा फेरि नदोहोरियोस्
यही हाम्रो अन्तिम प्रहर होस् ।
गरिमा ! तिम्रो मौन चित्कार
बन्नेछ अब न्यायको हुङ्कार,
तिम्रो सम्झनामा उठ्नेछ संसार
छोरी सुरक्षित नभएसम्म,
शान्त हुनेछैन यो आवाज अपार ।
(२०८३/०५/०८)