सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका-५ का स्थानीयले श्रमदानबाट करिब पाँच किलोमिटर ग्रामीण सडक मर्मत गरेका छन् ।
२०८३ भदौ ३ र ४ गतेको भारी वर्षाले सडकका विभिन्न ठाउँमा पहिरो जाने, माटो तथा ढुङ्गा थुप्रिने र सडक भासिने समस्या भएपछि स्थानीयले सडक मर्मतमा गरेका हुन् ।
तीर्थपोले-ढोरेनी-काप्रेचौर हुँदै पिपलबोटसम्मको सडकमा ४० जनाभन्दा बढी स्थानीयले श्रमदान गरेका थिए ।
स्थानीयले सडकमा थुप्रिएको माटो तथा ढुङ्गा हटाउने, भत्किएका भाग पुर्ने र सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक सम्याउने काम गरेका छन् ।
सडक अवरुद्ध हुँदा विशेषगरी बिरामीलाई अस्पताल लैजान तथा दैनिक आवतजावतमा समस्या भएपछि तत्काल सहज बनाउन श्रमदान गरिएको स्थानीय लिलाधर आचार्यले बताउनुभयो ।
स्थानीयले तत्काल सडक सञ्चालनमा ल्याए पनि दीर्घकालीन समस्या समाधानका लागि सडकमा नाला निर्माण, जोखिमयुक्त स्थानको संरक्षण तथा सडक स्तरोन्नति गर्न स्थानीय तहसँग माग गरेका छन् ।