पोखरा । ‘मौलिक संस्कृति जोगाऔँ, तीजको पहिचान बचाऔँ’ भन्ने मूल नारासहित पोखरा महानगरपालिका-१७ को कार्यालयले ‘खुला तीज गीत तथा नृत्य प्रतियोगिता २०८३’ आयोजना गरेको छ ।
तीजको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता २०८३ भदौ २० गते बिहान १० बजेदेखि वडा कार्यालयको प्राङ्गण, ड्यामसाइडमा हुने वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष राधिका कुमारी शाहीले २०८३ भदौ ३ गते जारी गरेको सूचनाअनुसार स्थानीय मौलिक कला, संस्कार, संस्कृति, परम्परा तथा भेषभूषाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
वडा अध्यक्ष शाहीले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा परम्परागत संस्कृति संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा वडाभित्रका आमा समूह, महिला समूह, टोल विकास संस्था, सामुदायिक तथा संस्थागत विद्यालय र इच्छुक महिला दिदीबहिनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । विद्यालयका छात्रा र महिला समूहका सहभागीबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार रुपियाँसहित प्रमाणपत्र, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट भेषभूषातर्फ २ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी समूहमा कम्तीमा तीनदेखि बढीमा सात जना कलाकार हुनुपर्नेछ । प्रस्तुति तीजको मौलिक गीत तथा संस्कृतिमा आधारित हुनुपर्ने र बढीमा सात मिनेटभित्र सक्नुपर्ने आयोजकले जनाएको छ । सहभागीले भेषभूषा तथा प्रस्तुतिमा शालीनता, मौलिकता र मर्यादा कायम गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८३ भदौ १८ गतेभित्र वडा कार्यालयमा नाम दर्ता गरिसक्नुपर्नेछ ।
सहभागी टोलीले आफूले छनोट गरेको गीत उपलब्ध गराउनुपर्नेछ भने साउन्ड सिस्टमको व्यवस्था वडा कार्यालयले गर्नेछ ।