मानव आवाज

२०८३ भाद्र ३ गते
00: 00: 00
२०८३ भाद्र ३ गते

नागरिक समाजको खबरदारीले लोकतन्त्र बलियो हुन्छ : सरोकारवाला

पोखरा । राज्यका निकायलाई पारदर्शी, उत्तरदायी र कानुनसम्मत बनाउन नागरिक समाजको निष्पक्ष खबरदारी तथा सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् ।

नागरिक समाज कुनै राजनीतिक दल, ट्रेड युनियन वा स्वार्थ समूहको भ्रातृ सङ्गठन नभई नागरिकको आवाज बुलन्द गर्ने, सामाजिक न्याय प्रवर्धन गर्ने र सुशासनका लागि खबरदारी गर्ने स्वतन्त्र शक्ति भएको उनीहरूको भनाइ छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला समन्वय समिति कास्कीको सहकार्य तथा नागरिक समाज कास्कीको समन्वयमा आयोजित ‘सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रम २०८३ भदौ २ गते जिल्ला समन्वय समिति कास्कीको सभाहल, पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सार्वजनिक पदमा रहेका जनप्रतिनिधि तथा सरकारी अधिकारीलाई जनताप्रति उत्तरदायी बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले जनप्रतिनिधि तथा सरकारी निकायका जिम्मेवार पदाधिकारी संविधान र कानुनको परिधिमा रहेर काम गर्ने भए पनि नागरिक समाजको निरन्तर खबरदारी र सहजीकरणले जनसरोकारका विषयलाई प्राथमिकतामा राख्न सहयोग पुग्ने बताउनुभयो ।

“नागरिक समाजको निरन्तर खबरदारी र सहजीकरण नभएको भए फेवाताल संरक्षण, सिमसार क्षेत्रको दोहन रोकथाम, फिर्केखोला सफाइ तथा वर–पिपल र चौतारी संरक्षणसम्बन्धी कानुनको कार्यान्वयनजस्ता थुप्रै विषय ओझेलमा पर्न सक्थे ।”-पौडेलले भन्नुभयो ।

उहाँले कुनै स्वार्थ नराखी समाज, वातावरण र विधिको शासनका पक्षमा नागरिक समाजले उठाएका आवाजलाई राज्यका सबै तहले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

स्रोतसाधन र कानुनी सीमितताका बाबजुद जिल्ला समन्वय समितिले सरोकारवाला निकायसँग समन्वय गरी जनसरोकारका विषय समाधानका लागि पहल गरिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले ‘सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता शर्माले नागरिक समाज कुनै राजनीतिक दल वा स्वार्थ समूहको भ्रातृ सङ्गठन नभई नागरिक हित, सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका लागि स्वतन्त्र रूपमा उभिने शक्ति भएको स्पष्ट पार्नुभयो ।

उहाँले नागरिक समाजको काम विरोधमा मात्र सीमित हुन नहुने बताउँदै राज्यका राम्रा कामलाई प्रोत्साहन र गलत अभ्यासको खबरदारी गर्दै समाजमा सकारात्मक चेतना र संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै अधिवक्ता विवि विष्टले नागरिक समाजले आफूलाई कुनै निश्चित घेराभित्र सीमित नराखी आम नागरिकको आवाज बन्नुपर्ने बताउनुभयो ।

उहाँले नागरिक समाजलाई राज्यको वैधानिक पहरेदारका रूपमा स्थापित गर्दै यसको प्रभावकारिताले लोकतन्त्रलाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले संस्थाले स्थापनाकालदेखि नै विदेशी वा कुनै दातृ निकायको सहयोग नलिई स्वेच्छिक योगदानका आधारमा फेवाताल, फिर्केखोला, सार्वजनिक जग्गा तथा सम्पदा संरक्षणका क्षेत्रमा अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गैरसरकारी संस्था महासङ्घ कास्कीका उपाध्यक्ष सरोज बराल र लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीले पोखराको फोहोरमैला व्यवस्थापन, रातकालीन व्यवसायको नियमन, ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक जग्गा संरक्षण तथा सीसी क्यामेरा व्यवस्थापनलगायतका विषयमा धारणा तथा सुझाव राख्नुभएको थियो ।

वक्ताहरूले नागरिक समाजले नागरिक सचेतनामार्फत प्राकृतिक न्याय, न्यायिक निष्पक्षता, नागरिक स्वतन्त्रता र स्वच्छताका सिद्धान्तअनुकूल काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

साथै संस्कार, संस्कृति, परम्परा, सामाजिक मूल्यमान्यता तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र उचित उपयोगका लागि पनि नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकीका उपन्यायाधिवक्ता गोपाल ढकालले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन अधिकृत अमृत रेग्मीले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News