मानव आवाज

२०८३ श्रावण ३१ गते
00: 00: 00
२०८३ श्रावण ३१ गते

दुई बालकसहित तीन जना बेपत्ता, कास्कीमा बाढीपहिरोले जनजीवन प्रभावित

पोखरा । पछिल्ला तीन–चार दिनदेखि कास्कीमा लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो, सडक कटान तथा पुलमा क्षति पुग्नुका साथै मानिस बेपत्ता र मृत्यु हुने घटना भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक तथा पुल अवरुद्ध भएका छन् भने सुरक्षा निकायले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ ।

पोखरा महानगरपालिका-२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा करिब १४ र १५ वर्षका दुई बालकलाई खोलाले बगाएको छ ।

उनीहरूको पहिचान खुल्न सकेको छैन । खोजीका लागि खटिएको टोली साउन ३० गते साँझ ७ बजे फर्किए पनि दुवै बालक अझै फेला परेका छैनन् ।

त्यस्तै, पोखरा महानगरपालिका-२५ हेम्जा, फुर्केटारीकी ४३ वर्षीया धनमाया विक साउन २९ गते साँझदेखि बेपत्ता हुनुभएको छ । विकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार अन्नपूर्ण गाउँपालिका-१० सिमैखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक खुल्न सकेको छैन ।

सोही गाउँपालिकाको स्याउलीबजारमा स्याउलीबजार र वडा नं. ७ हवेली जोड्ने झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग खोलाले बगाएपछि पुलमा पूर्ण क्षति पुगेको छ ।

माछापुच्छ्रे गाउँपालिका-१ तातोपानीस्थित तातोपानी-करुवा-मिर्चा हुँदै भलौदी जाने भित्री कच्ची सडक सेती नदीले करिब १ सय मिटर कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मादी गाउँपालिका-७ छाचोकस्थित काहुखोलाबाट ताङतिङ जाने भित्री कच्ची सडकखण्डसमेत मादी खोलाले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैबिच, अन्नपूर्ण गाउँपालिका-६ हाइँजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बिचमा रहेको ढिस्कोमा अवस्थित माता अन्नपूर्ण मन्दिरमा रहेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार उद्धार गरिएकामा पोखरा महानगरपालिका-१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाहीको बरहथवा नगरपालिका-१६ गैँगापुर घर भई हाल अन्नपूर्ण गाउँपालिका-८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा शिक्षक रहनुभएका २३ वर्षीय रेवन्तप्रसाद सिंह र भारतको हिमाञ्चल प्रदेशका ४८ वर्षीय मन्दिरका पुजारी निरमाया गिरी रहनुभएको छ । गिरी विगत आठ वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत रहेको बताइएको छ ।

पोखरा महानगरपालिका-१६ जुगेमणीका ६० वर्षीय हिराबहादुर सुनार नालीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिराका छोरा अर्जुन सुनारले घरदेखि करिब १ सय मिटर टाढा नालीमा अचेत अवस्थामा फेला पारेपछि उपचारका लागि मातृशिशु अस्पताल पुर्‍याउनुभएको थियो ।

चिकित्सकले साउन ३० गते राति १२ बजे सुनारलाई मृत घोषणा गरेका थिए । त्यसपछि शव मणिपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोबाट भएको क्षति तथा जोखिमको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसमेत गरेका छन् ।

लगातारको वर्षा भइरहेकाले जिल्लाका ग्रामीण तथा नदी-खोला आसपासका क्षेत्रमा थप सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ ।

Author

Share the News

Recent News

Related News