मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

डिजिटल सुरक्षा तालिमबाट २६ पत्रकार लाभान्वित

पोखरा । डिजिटल माध्यमको प्रयोग गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र सुरक्षित सूचनाको अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइएको छ ।

पोखरामा आयोजित दुई दिने डिजिटल सुरक्षासम्बन्धी तालिमका सहभागीहरूले डिजिटल प्रविधिको प्रयोगसँगै पत्रकारले आफ्नो अधिकार र जिम्मेवारीलाई पनि प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

डिजिटल राइट्स नेपाल, काठमाडौंको आयोजनामा पत्रकारका लागि आयोजित दुई दिने डिजिटल सुरक्षा तालिम २०८३ साउन २६ गते पोखरामा सम्पन्न भएको हो । तालिममा पोखरास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध २६ जना पत्रकार सहभागी भएका थिए ।

तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधि नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो ।

प्रविधि र सञ्चारमाध्यमको स्वरूप निरन्तर परिवर्तन भइरहेकाले पत्रकारले आफूलाई समयअनुकूल अपडेट गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।

डिजिटल माध्यमबाट सूचना प्रवाह गर्दा पत्रकारले आफ्नो अधिकारसँगै जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल अधिकारदेखि कृत्रिम बौद्धिकता (एआई) सम्मका विषयमा केन्द्रित यस्ता तालिमले पत्रकारलाई प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।

डिजिटल प्रविधिको बढ्दो प्रभावका बिच पत्रकारले आफ्नो हक तथा अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न यस्ता तालिम उपयोगी हुने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले डिजिटल प्रविधिको विकाससँगै पत्रकारिता र आमनागरिकका लागि नयाँ चुनौती र अवसर थपिँदै गएको बताउनुभयो ।

प्रविधिको सकारात्मक र नकारात्मक दुवै पक्ष हुने भएकाले यसको सही र सुरक्षित प्रयोग गर्न उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

तालिमका मुख्य सहजकर्ता तथा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक एवम् अधिवक्ता सन्तोषबाबु सिग्देलले नेपाल डिजिटल राइट्स स्कुल २०२६ अन्तर्गत संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रमा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

पत्रकारहरूको डिजिटल अधिकार, सुरक्षा तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

तालिममा डिजिटल माध्यमको प्रयोग, डिजिटल सुरक्षा तथा अनलाइन जोखिमबाट बच्ने उपाय, डिजिटल अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत सूचना तथा डेटा सुरक्षा, साइबर सुरक्षा र एआईको प्रयोगलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिममा डिजिटल अधिकारको अवधारणा र दायरा, डिजिटल अधिकार र मौलिक मानव अधिकारबीचको सम्बन्ध तथा डिजिटल नागरिक क्षेत्रको महत्वका विषयमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष शर्माले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै, डिजिटल राइट्स नेपालका कार्यक्रम प्रबन्धक सौरभ भट्टराई र कार्यक्रम अधिकृत सञ्जिना क्षत्रीले डिजिटल सुरक्षा तथा व्यक्तिगत र संस्थागत तहको साइबर सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा डिजिटल अधिकार, साइबर सुरक्षा, व्यक्तिगत तथा संस्थागत डेटा सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र एआईको सुरक्षित तथा जिम्मेवार प्रयोगलगायत विषयमा छलफल तथा अभ्यास गरिएको आयोजकले जनाएको छ ।

Author

Share the News

Related News