मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

पोखरामा ‘दि पावर अफ स्टोरी टेलिङ’ कार्यशाला सम्पन्न

पोखरा । शिक्षकको पेशागत विकाससँग सम्बन्धित अधिकांश तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम काठमाडौंमा केन्द्रित भइरहेका बेला पोखरामै विशेषज्ञ प्रशिक्षकमार्फत पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न भएको छ ।

राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन (एन्फोर्स्ड्ट), कास्कीले काठमाडौंमा आधारित प्रारम्भिक बालशिक्षा तथा बालविकासका क्षेत्रमा काम गर्दै आएको ई.सी.ई.पी. नेपाल फाउन्डेसनका विज्ञ प्रशिक्षकको सहकार्यमा साउन २५ गते पोखरामा कार्यक्रम सम्पन्न गरेको हो ।

‘शिक्षण र सिकाइमा कथावाचनको शक्ति’ विषयमा केन्द्रित कार्यशाला एन्फोर्स्ड्टद्वारा आयोजना हुँदै आएको ७औँ कथा वाचन प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो ।

कार्यक्रम ई.सी.ई.पी. नेपाल फाउन्डेसनको सहकार्य तथा एन्फोर्स्ड्ट शैक्षिक नवप्रवर्तन केन्द्र (नाइस) को सहआयोजनामा भएको हो ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखराले प्राविधिक सहयोग तथा भास्कर मेमोरियल माध्यमिक विद्यालय, पोखरा–११, फूलबारीले व्यवस्थापकीय सहयोग उपलब्ध गराएको थियो ।

नेपालमा शिक्षकको पेशागत विकासका धेरै अवसर काठमाडौंमा केन्द्रित हुँदा पोखरालगायत बाहिरी जिल्लाका शिक्षकलाई समय, खर्च र आवतजावतका कारण त्यस्ता तालिममा सहभागी हुन चुनौती हुने अवस्थालाई ध्यानमा राखेर पोखरामै विशेषज्ञ प्रशिक्षणको अवसर उपलब्ध गराइएको एन्फोर्स्ड्टले जनाएको छ ।

एन्फोर्स्ड्टका अध्यक्ष प्रेमबहादुर कुँवरले पोखरामै राष्ट्रियस्तरका प्रशिक्षण संस्था र विज्ञलाई जोडेर शिक्षकको पेशागत विकासका अवसर विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षाको सुधार कक्षाकोठाबाट सुरु हुने भन्दै उहाँले कक्षाकोठा सुधारका लागि शिक्षकलाई निरन्तर सिक्ने, अभ्यास गर्ने र नयाँ शिक्षण विधि प्रयोग गर्ने अवसर आवश्यक रहेको बताउनुभयो ।

दुईदिने कार्यक्रममा ई.सी.ई.पी. नेपाल फाउन्डेसनका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक प्रेमकुमारी बुढाथोकी, क्षेत्रीय कार्यक्रम संयोजक बिमला गुरुङ तथा सहजकर्ताद्वय सरिता केसी र शर्मिला थापाले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षकहरूले बालबालिकाको उमेर र विकासको अवस्थाअनुसार कथा छनोट, आवाजको उतारचढाव, हाउभाउ, भूमिका अभिनय, गीत तथा सङ्गीत, चित्र तथा कार्ड एवम् वास्तविक र प्राकृतिक सामग्रीको प्रयोगलगायतका माध्यमबाट कथा प्रस्तुत गर्ने अभ्यास गराउनुभएको थियो ।

प्रशिक्षणका क्रममा सहभागी शिक्षकले सबै उमेरका बालबालिकालाई एउटै किसिमको कथा र एउटै शैलीबाट सिकाउन नसकिने कुरा व्यवहारमै अभ्यास गर्नुभएको थियो ।

कथालाई सुखद अन्त्य हुने सामान्य घटनाका रूपमा मात्र नभई पात्र, परिवेश, भाव, आवाज, अभिनय, प्रस्तुति र सिकाइको उद्देश्यसँग जोडेर शिक्षणमा प्रयोग गर्नुपर्ने विषयमा समेत अभ्यास गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यालयका शिक्षकलाई समूहमा विभाजन गरी कथा तयार पार्ने, अभ्यास गर्ने र प्रस्तुत गर्ने अवसर दिइएको थियो । समूहगत प्रस्तुतिमा शिक्षकहरूले सिर्जनशीलता, सहकार्य र प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए।

फरकफरक विद्यालयका शिक्षक एउटै समूहमा रहेर काम गर्दा अनुभव आदानप्रदानको अवसरसमेत बनेको थियो ।

प्रत्येक समूहको प्रस्तुतिपछि सहभागी शिक्षकले आफ्नो प्रस्तुति आफैँ मूल्याङ्कन गर्ने, साथी शिक्षकबाट प्रतिक्रिया लिने र प्रशिक्षकको सुझाव ग्रहण गर्ने अभ्यासलाई तालिमको महत्वपूर्ण पक्षका रूपमा लिइएको थियो ।

सहभागी शिक्षकले दुईदिने प्रशिक्षण आफूहरूको अपेक्षाअनुसार उपयोगी भएको बताएका थिए । उनीहरूले बाल्यकालमा हजुरआमाबाट कथा सुनेका दिनको सम्झना गराउँदै बालबालिकालाई उत्प्रेरित गर्न सधैँ मोबाइल फोन वा डिजिटल सामग्री आवश्यक नपर्ने अनुभव सुनाएका थिए ।

शिक्षकहरूले आफ्ना विद्यालयले पेशागत विकासलाई प्राथमिकता दिँदै आएको र यस्ता प्रशिक्षणले कक्षाकोठाको शिक्षणलाई अझ सहज तथा उत्साहपूर्ण बनाउन सहयोग पुगेको बताए । उनीहरूले तालिमबाट सिकेका विधि कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यसअघि कथावाचन सामान्य र सजिलो काम हो भन्ने लागेको भए पनि प्रशिक्षणपछि बालबालिकाको उमेर, कथा छनोट, आवाज, हाउभाउ, प्रस्तुति, सामग्री र सिकाइको उद्देश्यजस्ता पक्षमा विशेष ध्यान दिनुपर्ने बुझेको सहभागी शिक्षकहरूले बताएका थिए ।

तालिमबाट छनोट भएका शिक्षकले आगामी कात्तिकमा काठमाडौँमा हुने सातौँ कथा वाचन प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

प्रतियोगितामा सहभागी शिक्षकले रङ्गमञ्चका कलाकार तथा अन्य विज्ञबाट थप प्रशिक्षण र निर्देशन पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट पाँच कथावाचकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ई.सी.ई.पी. नेपाल फाउन्डेसनका प्रशिक्षकले यसअघि लमजुङमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा चितवन तथा काठमाडौँमा समेत कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन् ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपालका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुभाष पौडेलले दुई दिनमा सिकेका विधि कक्षाकोठामा प्रयोग गर्न शिक्षकलाई आग्रह गर्नुभयो ।

समापन कार्यक्रममा एन्फोर्स्ड्ट शैक्षिक नवप्रवर्तन केन्द्रका तर्फबाट विश्वराज बाँस्तोलाले पोखरामा यस्तो कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहभागी शिक्षकलाई काठमाडौंमा हुने कथा वाचन प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्नुभयो ।

उहाँले एन्फोर्स्ड्टको आयोजनामा आगामी असोज-कात्तिकमा ‘टिचर्स इन पोखरा दोस्रो संस्करण’ आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पोखराका आठ विद्यालयका ८६ जना पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षक सहभागी थिए । कार्यक्रममा कथा भन्नेमात्र नभई कथालाई बालबालिकाको सिकाइका लागि प्रभावकारी शिक्षण विधिका रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो ।

Author

Share the News

Related News