मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

खाद्य प्रविधि कार्यालय पोखराको वार्षिक प्रगति समीक्षा सम्पन्न

पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा तथा मातहतका डिभिजन कार्यालय दमौली र बागलुङको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ ।

‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ तथा यस वर्षको ‘सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित आयोजित समीक्षा गोष्ठी २०८३ साउन २५ गते पोखरा महानगरपालिका-८ स्थित कार्यालय परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय उपभोक्ता हित मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले खाद्य पदार्थ स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सेवा प्रदायक, सेवाग्राही र नियमनकारी निकाय सबै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिबारे विस्तृत प्रस्तुति दिनुभयो ।

श्रेष्ठका अनुसार कार्यालयले गण्डकी प्रदेशका कास्की, स्याङ्जा र पर्वतसहित ११ जिल्लामा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्रसम्बन्धी काम गर्दै आएको छ ।

साथै खाद्य बजार, होटल तथा रेस्टुरेन्टको अनुगमन, निरीक्षण र संयुक्त अनुगमनसमेत गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

खाद्य स्वच्छतासम्बन्धी प्राप्त उजुरी तथा गुनासोलाई कार्यालयले तत्काल सम्बोधन गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

कार्यालयका मुख्य कार्यमा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारी तथा नवीकरण, उद्योग, बजार तथा होटलरेस्टुरेन्टको अनुगमन तथा निरीक्षण, खाद्य तथा दानाका नमुना सङ्कलन र विश्लेषण, खाद्य तथा दाना ऐनअनुसार कारबाही तथा राजस्व सङ्कलन र वित्तीय प्रगति रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको चौथो त्रैमासिक अवधिको भारित प्रगति ९८.४४ प्रतिशत र वित्तीय प्रगति १२४.१ प्रतिशत रहेको छ। त्यस्तै, हालसम्मको भारित प्रगति ८१.७१ प्रतिशत र वित्तीय प्रगति ६९.८९ प्रतिशत रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको चौथो त्रैमासिक अवधिको भारित प्रगति ९९.९३ प्रतिशत र वित्तीय प्रगति १४७.९ प्रतिशत रहेको छ। हालसम्मको भारित प्रगति ९९.९० प्रतिशत र वित्तीय प्रगति ९४.४० प्रतिशत पुगेको छ।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको चौथो त्रैमासिक अवधिको भारित प्रगति ९९.४८ प्रतिशत र वित्तीय प्रगति १३० प्रतिशत रहेको छ। हालसम्मको भारित प्रगति ९९.७९ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको श्रेष्ठले बताउनुभयो।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरणअनुसार चौथो त्रैमासिक अवधिमा कार्यालयले ८ लाख २१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। हालसम्मको अवधिमा भने २५ लाख ४८ हजार ७६ रुपैयाँ राजस्व सङ्कलन भएको श्रेष्ठले जानकारी दिनुभयो।

पोखरासहित तनहुँ र बागलुङका डिभिजन कार्यालयको संयुक्त तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ लाख ९० हजार ३१ रुपैयाँ मूल्य बराबरका अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ।

गुणस्तरहीन खाद्यवस्तुको बिक्रीवितरण रोक्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमन र निगरानीलाई तीव्र पारिएको श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सुमन लामिछाने र डिभिजन कार्यालय दमौलीका निमित्त प्रमुख तथा खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगरले आआफ्नो कार्यक्षेत्रमा भएका काम तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभयो ।

डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा बागलुङ, मुस्ताङ र म्याग्दी जिल्ला रहेका छन् भने डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्र तनहुँ, गोरखा, नवलपुर, लमजुङ र मनाङ रहेको छ ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयकी प्राविधिक सहायक सविना सुनारले गर्नुभएको थियो ।

Author

Related News