मानव आवाज

२०८३ श्रावण २३ गते
00: 00: 00
२०८३ श्रावण २३ गते

इन्द्रेणी सपनाका धनी विकासवादी नेता: धालप्रसाद तिमल्सिना

सनोज महत

रजनिश ओशोको कथामा मुल्लाह नसरुध्दिन र अकबरको कथामा वीरबल गासिएर आए जस्तै, जब जब दक्षिण ललितपुरको कथा र किस्सा आउँछ, धालप्रसादको किस्सा प्राय जोडिएरै आउँछ । लेले चन्दनपुरको बाटो घुम्दैघुम्दै उहाँको आँगनलाई छुस्स छोएर अगाडि बढे जस्तै दक्षिण ललितपुरको राजनीति होस्, विकास निर्माण वा व्यवसायिकताका किस्सा, ती सबै उहाँबिना लगभग अधुरै हुन्छन् । यस्तै किस्सा जोडिएका कालजयी पुरुष, जसले एकछत्र राज गर्‍यो दक्षिण ललितपुरको मन मस्तिष्कमा, युगौँ सम्म । उहाँ २०८३ साउन २२ गतेबाट हामीमाझ हुनुहुन्न । उहाँसँग जोडिएका किस्सा हामीलाई नै छाडेर उहाँ जानुभयो । उहाँलाई भेट्ने र बात मार्ने एउटा इच्छा अपुरो नै रह्यो।

सामान्य परिवारमा जन्मनुभएका धालप्रसाद, राजनीति र समाजसेवा गर्दागर्दै धोती न टोपी हुन पुग्नुभयो । जोगी सो सरह । माओवादीका डरले राता रात भागेर पशुपति पुग्नुभएका उहाँ कसरी ज्योतिष हुनुभयो ? ७० को दशकमा आएर एउटा बूढो मानिसले कसरी मोटरसाइकल र ल्यापटप चलाउन सिक्नुभयो ? आफैँमा रोचक छ । उहाँका कथा रोमान्चक छन् । हुन त उहाँका वास्तविकता हुन् तर अरुलाई कथा लाग्ने खालका काम छन् । धेरै मानिसहरु यो ठान्छन् कि-“केशरबहादुर बिष्टको छत्र छायाँमा धालप्रसादको राजनीति फल्योफुल्यो ।” मानिसहरुलाई यो थाहा छैन कि-“राजनीतिमा धालप्रसाद, केशरबहादुरका श्रृष्टिकर्ता हुनुहुन्छ ।” धालप्रसादको कहानी कुनै एउटा लेख वा मात्र एउटा किताबले समेट्न सक्दैन । धालप्रसादको जीवनका पत्रहरु केलाउने हो भने थुप्रै मानवशास्त्री र समाजशास्त्रीको गहन अध्ययन र विष्लेषणको आवश्यकता पर्न जान्छ । उहाँ आफैँले भन्नुभएका र उहाँको बारेमा दुनियाले भन्दै आएको केही रोचक किस्सा भने धालप्रसादको स्मृतिमा श्रध्दा सहित साझा गर्दछु । पङ्तिकारले यि किस्सा उहाँको स्मरणलाई चीरस्थायी बनाउनका लागि श्रद्धा टक्र्याउँदै राखेको हो ।

किस्सा न. १ : लेले-चन्दनपुर मोटरबाटो

लेले-चन्दनपुर मोटरबाटो बन्नुको जस केशरबहादुर बिष्टलाई जान्छ । यो मोटरबाटोलाई अनावश्यक लामो र घुमाउरो बनाएको अपजस भने धालप्रसादलाई जान्छ । ठोट्नेखोलाको त्यो कोप्चेरोमा सार्वजनिक जग्गामा बस्नुभएका धालप्रसादको आँगन छुवाउन सो सडकलाई अनावश्यक लामो बनाइयो भन्ने बुझाइ आम टुङ्गुनबासीको देखिन्छ । त्यो बाटोको अन्तरकथा के थियो भन्न सक्ने पात्र केशरबहादुर विष्ट जिवितै हुनुहुन्छ ।

लेले-चन्दनपुर मोटरबाटो विश्व खाद्य कार्यक्रमको फुड फर वर्क परियोजना अन्तर्गत बनेको हो । २०३८ सालको विनाशकारी बाढी पश्चात् आम नागरिकलाई भोकमरीबाट राहत दिने, तिनै नागरिकलाई काम लगाएर बाटो बनाउने र बाटो बनाउन गरेको श्रमको ज्याला खाद्यान्न दिने कार्यक्रम थियो । दक्षिण ललितपुरको नाबालकदेखि कोदालो समाएर उभिन सक्ने ज्येष्ठ नागरिकसम्म श्रमदानमा जुटेको समय थियो, त्यो । दक्षिण ललितपुरका, हरेक घरका, भएभरका परिवार एकैसाथ काम गरेको परियोजना पनि हो यो । तिनै मजदुर र नागरिकसँग दिनरात खटिएका तत्कालीन  युवा माननीय केशरबहादुर बिष्ट शिक्षामन्त्री पनि हुनुभयो । त्यही काम र त्यही छविका करण विष्टको नाम आज पनि दक्षिण ललितपुरमा श्रध्दापुर्वक लिइन्छ ।  

केशरबहादुरले जस र धालप्रसादले भयङ्कर अपजस पाएको त्यो बाटो बनाउन हुकुम प्रमाङ्गी गराउने काम भने धालप्रसादले गर्नुभएको हो । सो हुकुम प्रमाङ्गी गर्नगराउन धालप्रसादले पटकपटक राजदरबारमा दरखास्त निवेदन दिनुभएको थियो । राजदरबारले धालप्रसादको दरखास्तका आधारमा हुकुम प्रमाङ्गी गरेको थियो । ती सबै कागजात २०७० सालसम्म उहाँसँगै सुरक्षित थियो । २०८१ मा ठोट्ने खोलामा आएको बाढीले क्षति नगरेको भए उहाँका घरमा पोका पुन्तुरा खोतल्दा पक्कै ती कागजात फेला पर्ने छन् । “यत्रो अपजस सहनु पर्दा पनि किन यो सार्वजनिक नगरेको ? ” भनेर मैले सोध्दा धालप्रसाद मौन बस्नुभएको थियो । मौनताको पोको नखोली उहाँ जानुभयो । सायद कसैलाई भन्नुभएको होला । विस्तारै खुल्दै आउला ।

किस्सा न. २ जिल्ला पञ्चायतमा वर्षौँको धर्ना

खान पुग्ने घर परिवारका धालप्रसाद, किशोर अवस्थादेखि राजनीतिमा हुनुहुन्थ्यो । गाउँघरमा हिँड्दा बालबिलकाको लागि पिपल्मेठ र वयस्कको लागि चुरोट उहाँको गोजीमा टुट्दैनथ्यो । उहाँ समुदायमा घुलमिल गर्नका लागि यि काम गर्नुहुन्थ्यो । उहाँ २०३८ र २०४३ सालमा भएको गाउँ पञ्चायतबाट प्रधान चुनिनुभयो । पञ्चायत पश्चात् बहुदलमा समेत उहाँ एकपटक गाविस अध्यक्ष हुनुभयो । २०४९ सालको स्थानीय निकाय निर्वाचनमा उहाँले गाविस अध्यक्ष पदमा जित हात पार्नुभयो । जिल्ला सभापति र क्षेत्रीय सदस्य चुन्न सधैँभरी अहम् भुमिका खेली नै रहनुभयो ।

त्यतिबेलाको दक्षिण ललितपुर र टुङ्गुन क्षेत्र, वर्णन गर्दा अबको पुस्ताले विश्वास गर्नै सक्दैन । उहाँको भनाइ अनुसार राजनीतिमा सफल भएमा गाउँमा शिक्षाको राम्रो व्यवस्था गर्ने उहाँको प्रतिबध्दता थियो । मतदाताले जिताइ दिए । उहाँ प्रधानपञ्च हुनुभयो । उहाँ प्रधानपञ्च भएको समयमा अहिले जस्तो विकास बजेट केही पनि गाउँमा आउँदैनथ्यो । ससाना कामको लागि जिल्ला पञ्चायत धाउनु पर्ने अवस्था थियो । राष्ट्रिय पञ्चायत सदस्य भेट्नु पर्ने थियो । कि त दरबारमा बिन्तिपत्र पेश गर्नुपर्ने थियो । टुङ्गुनदेखि पाटन आउनु त्यति सजिलो थिएन । आउजाउमा नै कैयन दिन लाग्ने थियो । सानो खर्चले पुग्दैनथ्यो । एक पटक आएर पनि नहुने । पटकपटक धाउनु पर्ने । यी सबै झञ्झटलाई देखेर उहाँले एउटा प्रतिज्ञा गर्नुभयो-“विद्यालयको टुङ्गो नलगाई गाउँ जान्नँ ।”  यसै क्रममा दिन, महिना र वर्ष बिते । आफ्नो काम फत्ते नभएसम्म उहाँ गाउँ फर्कनुभएन । वर्षौँसम्म पाटन बस्नु, खानु र डेरा भाडा तिर्नु सजिलो थिएन । त्यही चक्करमा धामीडाँडाका जग्गा जमीन बेच्नु परेको उहाँ सुनाउनुहुन्थ्यो । 

यद्यपी उहाँका विरोधीहरु धालप्रसाद भयङ्कर जुवाडे हुनुहुन्थ्यो र  जुवामा नै उहाँले सम्पति र जग्गाजमीन गुमाउनुभयो भन्छन् । र, ठोट्नेखोलाको सार्वजनिक क्षेत्रमा गएर बस्नुभयो । राजनीतिको जुवामा होस् वा साँच्चैको जुवामा, आजीवन राजनीति र समाजसेवामा रहनुभएका साधु रहनुभएको भने जो कसैको सामु छर्लङ्गै छ । यो कुरालाई भने विरोधीले पनि स्वीकार्छन् । धामीडाँडाको आधारभुत विद्यालय र हाल गोटीखेलस्थित महाङ्काल माध्यमिक विद्यालयमा उहाँले गरेको योगदान भने कसैले बिर्सन मिल्दैन । स्मरण रहोस, भिमबहादुर सिजापति स्वयम् राष्ट्रिय पञ्चायत सदस्य  रहिरहँदा भिमबहादुर कै गाउँ लेलेभन्दा पहिले गोटिखेलमा माध्यमिक विद्यालय स्थापना भएको इतिहास छ । र, यो कामका लागि धालप्रसादको योगदान रहेको छ ।

किस्सा न. ३ लखेटिएका धालप्रसाद ज्योतिष

सायद २०६० साल आसपासको कुरा हुनुपर्छ । माओवादीको डरले एक रात धालप्रसाद ठोट्नेखोलाको जङ्गलै जङ्गल भाग्नुभयो । पछि सम्झँदा उहाँ भन्नुहुन्थ्यो-“पल्याक पिलिक् थुप्रै टर्च  लाइटहरु बलेका थिए । हो न हो मलाइ नै लिन, माओवादी आयो-भन्ने मलाई लाग्यो । त्यसैले म भागेँ ।”  त्यहाँबाट भाग्नुभएका धालप्रसाद तन्त्र साधनाको लागि काठमाडौँ पशुपतिमा पुग्नुभयो । त्यहीँ उहाँले ज्योतिष विद्या सिक्नुभयो । जीवनको उत्तरार्धमा त्यही ज्योतिष विद्या उहाँको खुब काम आयो । नामुद ज्योतिषको रुपमा उहाँ उदाउनुभयो । त्यसबारेमा ज्ञान उहाँसँग पहिला पनि थियो भनिन्छ । तर मैले बुझेसम्म यो घटनाले उहाँ नामुद ज्योतिष बन्नुभयो । उहाँ ठोट्नेखोला बस्दा मानिसहरु उहाँलाई खोज्दै त्यहीँ पुग्ने भए । गाडी, बाइक लिएर लिन आउनेको ताँती राम्रै हुन थाल्यो । विभिन्न ठाउँबाट बोलावट हुँदा आउजाउ गर्न असहज भएकाले उहाँले ७० को उमेरमा गएर मोटर साइकल सिक्नुभयो । एउटा बुढो मान्छे काठमाडौँ र ठोट्नेखोला आफैँले बाइक चलाएर आउजाउ गर्न थाल्यो । उहाँका यस्तै अजिब किस्साका कारण उहाँ जीवनभर महसुर रहिरहनुभयो ।

किस्सा न. ४ -व्यवसायिक जीवन 

ठोट्नेखोलाको  ठुलै क्षेत्रफलमा उहाँ बस्नुभएको भएपनि चिसोको कारण खासै उत्पादन भने केही हुने होइन । खोला किनारमा बनाएको घट्ट उहाँको जिविकोपार्जनको ठुलै सहारा रह्यो । जडिबुटीका राम्रा ज्ञाता उहाँको बारीमा अनेक जडिबुटी र कन्तमुल थियो । पछिल्ला दिनमा राम्रो लौठ सल्ला हुर्काइ रहनुभएको थियो । लौठ सल्लाको ठुलै नर्सरी उनिसँग सम्पत्तिको रुपमा थियो । २०८१ को बाढीले घरवारी र नर्सरीमा ठुलै क्षति गरे पछिको किस्सा भने अलग छ ।

उहाँले बताएकोमा सबैभन्दा उदेक लाग्दो कहानी भने -“अङ्गोरा पालन” हो । २०५० साल आसपास नेपाल सरकारले नेपाली पश्मिना उद्योग प्रवर्धनको लागि अङ्गोरा जातको खरायो व्यवसायिक रुपमा पाल्न कृषकहरुलाई प्रेरित गर्‍यो । नयाँ नयाँ काम गर्न रुचाउने धालप्रसादले व्यवसायिक रुपमा अङ्गोरा खरायो पाल्नुभयो । महिनै पिच्छे ब्याउने । एकै बेतमा थुप्रै बच्चा पाउने खरायो । दिन दुगुना रात चौगुना बृध्दि भयो । “उन बेचौँ उन बिक्दैन । खरायो त झनै नबिक्ने,  परेन त आपत !”- उहाँले सुनाउनुहुन्थ्यो । खरायोलाई खुवाउँदा, खुवाउँदा सर्वश्व सकियो । आखिरमा सबै खरायो बाध्य भएर ठोट्ने खोलाको जङ्गलमा छोडेको तितो अनुभव उहाँले सुनाउनुभएको दुखद् कहानी हो यो ।

किस्सा न. ५  ठोट्ने खोला रिभर गार्डेनिङ्गको सपना 

 “पञ्चे”  र  “केशरको हनुमान” भनेर पछिल्लो पुस्ताले किनाराकृत गरेका धालप्रसाद, आफैँमा एक विकासवादी राजनीतिज्ञ हुनुहुन्थ्यो । मेरो पछिल्लो भेट उहाँसँग २०८० वैशाखमा भइरहँदा ठोट्ने खोला रिभर गार्डेनिङको सम्बन्धमा उहाँले लामो कुरा गर्नुभएको थियो । त्यतिबेला ठोट्नेखोलाको तल्लो भागमा केही होमस्टे चम्किरहेका थिए । व्यवसायिक ट्राउट फार्महरु आकर्षणका केन्द्र बनिरहेका थिए । त्यो निर्जन र अकन्टक जङ्गलमा हुलका हुल पर्यटक आउन थालेका थिए । यी सबै चिजलाई नजिकबाट नियालिरहनुभएका धालप्रसादको मनमा रिभर गार्डेनिङको योजना जागेको थियो । “भाइले कुरा गर्नुपरो, गणेशसँग” उहाँको प्रस्ताव थियो । “मैले भन्नुभन्दा दाइले नै भनौन, राम्रो हुन्छ ।”-मैले भनेँ ।  “खै, म बुढोले भनेको कसले सुन्ला र ! बरु यहाँका गाउँलेलाई सम्झाउने/बुझाउने म गरौँला ।”-उहाँले भन्नुभयो । यि सम्वाद इन्द्रेणी सपनाका धनी, विकासवादी नेता धालप्रसादसँग मैले गरेको अन्तिम सम्वाद थिए ।

यी र यस्ता कहानीका मुहान हुनुहुन्छ, धालप्रसाद । नौ दशकको सेरोफेरो बाँच्नुभएका उहाँको जीवन, उतारचढाबपूर्ण रह्यो । फकिरको जीवन बाँच्नुभएका धालप्रसाद प्रति उहाँको सन्तान, इष्टमित्र, आफन्त, नातागोता, छरछिमेकीले के कस्तो धारणा राख्दछन्, त्यो मलाई थाहा छैन । गोटीखेल, टुङ्गुन क्षेत्र र दक्षिण ललितपुरको राजनीतिक र सामाजिक योगदानमा भने उहाँको नाम अग्रस्थानमा छ । रहिरहने छ । दक्षिण ललितपुरमा उहाँले खिचेको लेले-चन्दनपुरको सडक रेखा एकमात्र आवागमन योग्य सडक हो । उहाँलाई गाली गर्दै खनिएका बाँकी छोटा बाटोहरु मृत्यु मार्ग सावित भएका छन् । वर्षौँ कैयन नागरिकको जीवन ती छोटा मार्गले खाइरहेका छन् । धामीडाँडाको जग्गा बेच्दै हालिएको शिक्षाको जग उहिलेदेखि अहिलेसम्म सिङ्गो दक्षिण ललितपुरको गरिमा बनेर रहेको छ ।

समयको रङ्ग सँगसँगै राजनीतिको रङ्ग फेर्न नसकेका धालप्रसादलाई पछिल्लो पुस्ताले कति चिन्छ वा चिन्दैन ? त्यो आफ्नो ठाउँमा छ । टुङ्गुन क्षेत्र र दक्षिण ललितपुरले भने बिर्सन मिल्दैन । महाङ्काल गाउँपालिकाले सार्वजनिक बिदा देओस् वा नदेओस् । एउटा सार्वजनिक शोकसभा भने पक्कै आयोजन गर्ने छ भन्ने विश्वास राखेको छु । हार्दिक श्रध्दासुमन पुण्य आत्मा । हार्दिक श्रध्दाञ्जली धालप्रसाद दाइ ।

(स्पष्टीकरणः मैले भेटेको, गरेको कुरा र सुनेको किस्साका आधारमा यो लेख तयार पारेको हुँ । यसबारे थप चर्चा र परिचर्चा उहाँलाई नजिकबाट जान्नेहरूले पक्कै गर्नुहुनेछ ।)

Author

Share the News

Recent News

Related News