पोखरा । विद्यार्थीहरूमा शारीरिक स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता, सहकार्य तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हिमाली स्काउट, पोखरा-१८ भकुण्डेको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टीखानस्थित श्री चण्डीडाँडा माध्यमिक विद्यालयमा हाइकिङ, खेलकुद सामग्री वितरण, वृक्षारोपण तथा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ ।
२०८३ साउन १७ गते आयोजित कार्यक्रमअन्तर्गत विद्यार्थी, शिक्षक तथा स्काउटका सदस्यहरूको सहभागितामा बिहान ५ बजेदेखि हिमाली बाल कल्याण संरक्षण मञ्चबाट सुरु भएको हाइकिङ श्री चण्डीडाँडा माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो ।
हाइकिङमार्फत विद्यार्थीहरूलाई शारीरिक रूपमा सक्रिय बनाउनुका साथै प्रकृतिसँग नजिक हुने, समूहमा मिलेर काम गर्ने, अनुशासन पालना गर्ने तथा नेतृत्व र सहकार्यको भावना विकास गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।
सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुदप्रतिको रुचि र सहभागिता बढाउने उद्देश्यले विभिन्न खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
उपलब्ध सामग्रीले नियमित खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा फेदीखोला गाउँपालिका-१ का वडा अध्यक्ष अमृत क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य खेमराज पोख्रेल, श्री चण्डीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठ, शिक्षक-अभिभावक सङ्घका अध्यक्ष केशव सुनार, शैक्षिक विभाग प्रमुख बन्धुराज पौडेल, शिक्षक-अभिभावक सङ्घका सदस्य लालबहादुर सुनार र विमला क्षेत्री तथा हिमाली विद्यालयका प्रधानाध्यापक दीपक कार्कीले विद्यार्थीको समग्र विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षकहरू पूर्णिमा थापा, अमिसा गुरुङ, कविता वली, वसन्ती पौडेल, मिलन पौडेल, अलका आले मगर, हाउस मदर गङ्गा बानियाँ, चित्रमाया दुरा, कार्यालय सहयोगी विनोद नेपालीसहित विद्यालय परिवार तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपण गरिएको थियो ।
दुवै विद्यालयका विद्यार्थी, शिक्षक तथा हिमाली स्काउटका सदस्यहरूले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वच्छ विद्यालय परिसर निर्माणको सन्देश दिँदै रोपिएका बिरुवाको नियमित संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी विद्यार्थीहरूको प्रतिभा र सहकार्य भावना विकास गर्ने उद्देश्यले विभिन्न प्रतिस्पर्धात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो ।
डोरी तान्ने प्रतियोगितामा सुबोध विकको टोली प्रथम, हिरा बहादुर थापाको टोली द्वितीय तथा स्वस्तिक परियारको टोली तृतीय भयो ।
ब्लाइन्डफोल्ड बेलुन फुटाउने प्रतियोगिताको छात्रतर्फ सुबोध विक पहिलो, अमर थापा दोस्रो र कपिल पोखरेल तेस्रो हुनुभयो भने छात्रातर्फ रमिला सुनार पहिलो, दिप्शा खत्री दोस्रो तथा एलिशा जलारी तेस्रो हुनुभयो ।
फिङ्गर क्याच प्रतियोगितामा सुबोध विक पहिलो, सिजल सारु मगर दोस्रो तथा आदिप सुनार तेस्रो हुनुभयो ।
स्काउट मास्टर कृष्णकुमार राजवाहकको समन्वयमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, शारीरिक सक्रियता, सहकार्यको भावना तथा वातावरणीय चेतना विकासमा महत्वपूर्ण योगदान पुर्याएको सामाजिक अभियन्ता दीपजङ्ग कार्कीले बताउनुभयो ।