पोखरा । पोखरा महानगरपालिका-१७ ले घर-घरबाटै फोहोर वर्गीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउन विभिन्न रङका डस्टबिन वितरण गरेको छ ।
वडा कार्यालयले टोल विकास संस्थासँगको साझेदारी तथा वडाको ५० प्रतिशत आर्थिक सहयोगमा २०८३ साउन १७ गते ५ सय ७० थान डस्टबिन वितरण गरेको हो ।
“स्वच्छ वडा, सुन्दर वडा र समृद्ध वडा” तथा “फोहोर वर्गीकरण गरौँ, स्रोतमा बदलौँ” भन्ने नारासहित आयोजित कार्यक्रममा करिब ८ लाख रुपियाँ बराबरका डस्टबिन वितरण गरिएको वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले जानकारी दिनुभयो ।
उहाँले वडा भौगोलिक रूपमा ठूलो भएकाले तत्कालका लागि पाइलट कार्यक्रमका रूपमा अभियान सञ्चालन गरिएको र यसको मुख्य उद्देश्य फोहोर व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउनु रहेको बताउनुभयो ।
वडा अध्यक्ष शाहीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान घर-घरबाटै स्रोतमै फोहोर वर्गीकरण गर्नु नै भएको उल्लेख गर्नुभयो ।
सचेतनामूलक कार्यक्रम धेरै भए पनि त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा ठूलो चुनौती रहेको उहाँको भनाइ थियो ।
उहाँले विगतमा डम्पिङ साइटको समस्याका कारण महानगरभर फोहोर थुप्रिने अवस्था सिर्जना भएपछि घरमै फोहोर वर्गीकरण गर्ने अभियान सुरु गरिएको स्मरण गराउँदै घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर प्रयोग गर्न र नकुहिने फोहोर बिक्री गरी आम्दानीको स्रोत बनाउन सकिने बताउनुभयो ।
फोहोरलाई स्रोतमै छुट्ट्याउँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा उल्लेख्य रूपमा घट्ने, वातावरण स्वच्छ रहने तथा समुदायलाई आर्थिक र वातावरणीय दुवै हिसाबले लाभ पुग्ने उहाँले बताउनुभयो ।
उहाँले आगामी दिनमा सबै टोल र समुदायमा सचेतना अभिवृद्धि गर्दै फोहोर व्यवस्थापन अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो ।