मानव आवाज

२०८३ श्रावण १६ गते
00: 00: 00
२०८३ श्रावण १६ गते

कोदो संरक्षण र प्रवर्धनमा महानगर प्रतिबद्ध : नगर प्रमुख आचार्य

पोखरा । “कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा पोखरा महानगरपालिका-२२, पुम्दीभुम्दीको कोदीमा शनिबार विविध कार्यक्रम आयोजना गरिएको छ ।

पुम्दीभुम्दी कृषि सहकारी संस्था लिमिटेड र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजना तथा वडा नं. २२ कार्यालय, वडास्तरीय कृषि सञ्जाल र विभिन्न स्थानीय संघसंस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले रैथाने बालीको उत्पादन बढाउन, खेती विस्तार गर्न तथा कृषकलाई प्रोत्साहन गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन आवश्यक नीति तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा र आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख आचार्यले कोदो उत्पादक कृषकलाई न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उत्कृष्ट कोदो उत्पादक कृषकहरूलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानित हुनेमा १७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२२ का खगी घर्ती, ११ रोपनीमा खेती गर्ने पोखरा-२० का दुर्गा बहादुर सुनार, १० रोपनीमा खेती गर्ने पोखरा-२८ की शोभा भण्डारी तथा ९ रोपनीमा खेती गर्ने पोखरा-२३ का होमबहादुर गुरुङ रहनुभएको थियो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगर क्षेत्रमा करिब ३ हजार ८ सय हेक्टरमा कोदो खेती हुँदै आएको र वार्षिक करिब ४ हजार ८ सय मेट्रिक टन उत्पादन हुने अनुमान रहेको जानकारी दिनुभयो ।

बजारमा माग बढ्दै गए पनि उत्पादन घट्दो क्रममा रहेकाले कृषकलाई कोदो खेतीतर्फ आकर्षित गर्न न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोदो तथा अन्य रैथाने बाली (चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि) र तिनबाट बनेका परिकारहरूको प्रदर्शनी गरिएको थियो ।

साथै कोदो रोपाइँ प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान, कोदोसम्बन्धी कविता वाचन, लोकगीत तथा भजन प्रस्तुति पनि कार्यक्रमका आकर्षण बने ।

पुम्दीभुम्दी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुहरी बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव घनश्याम देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News