मानव आवाज

२०८३ श्रावण १५ गते
00: 00: 00
२०८३ श्रावण १५ गते

सामाजिक सुरक्षा कोषप्रति योगदानकर्ताको आकर्षण बढ्दो

पोखरा । गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषप्रति रोजगारदाता र श्रमिकको आकर्षण क्रमशः बढ्दै आएको छ ।

२०८३ असार मसान्तसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७ रोजगारदाता संस्था तथा कम्पनीमार्फत ३३ हजार ३ सय ३३ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

पोखरा महानगरपालिका-७, रत्नचोकस्थित सामाजिक सुरक्षा कोष, पोखरा कार्यालयका प्रमुख डिपी सुन्दर पराजुलीका अनुसार गत आर्थिक वर्षमा मात्रै ४ सय ८ रोजगारदाता संस्था र ३ हजार ४ सय १ नयाँ योगदानकर्ता थपिएका हुन् ।

उहाँका अनुसार गण्डकी प्रदेशका ९९ सरकारी कार्यालय पनि कोषमा आबद्ध भइसकेका छन् । साथै, स्याङ्जाको फेदीखोला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका गरी दुई स्थानीय तहसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

प्रदेश पर्यटन र शिक्षाको प्रमुख केन्द्र भए पनि यी क्षेत्रमा रहेका धेरै रोजगारदाता अझै कोषमा आबद्ध हुन नसकेको प्रमुख पराजुलीले बताउनुभयो ।

“हामी रोजगारदातालाई कोषमा आबद्ध गराउने प्रयासमा छौँ । तर, उहाँहरूको अनिच्छाका कारण अपेक्षित सहभागिता हुन सकेको छैन ।”-उहाँले भन्नुभयो-“यसका लागि सचेतनासँगै आवश्यक नीतिगत व्यवस्था पनि जरुरी छ ।”

डिपी सुन्दर पराजुली

उहाँका अनुसार गत वर्ष रोजगारदाता तथा योगदानकर्ता आबद्ध गराउने लक्ष्य पूर्ण रूपमा हासिल हुन सकेन ।

“हामीले यसभन्दा ठूलो लक्ष्य राखेका थियौँ, तर विभिन्न कारणले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकिएन ।”-उहाँले भन्नुभयो ।

यद्यपि पछिल्लो समय सामाजिक सुरक्षा कोषप्रति आम नागरिकको चासो र आकर्षण बढेर आएको उहाँको भनाइ छ ।

“योगदानकर्ताले कोषले उपलब्ध गराउने पेन्सन, बीमा तथा अन्य सेवासुविधाबारे जानकारी लिन चासो देखाइरहनुभएको छ ।”-उहाँले भन्नुभयो-“तर रोजगारदाताको सक्रियता अपेक्षाकृत कम हुँदा योगदानकर्ताको सङ्ख्या अझै बढ्न सकेको छैन ।”

पराजुलीका अनुसार सामाजिक सुरक्षा कोषको महत्व र यसबाट प्राप्त हुने सेवासुविधाबारे पर्याप्त जानकारी पुर्‍याउन नसक्नु अझै प्रमुख चुनौती बनेको छ ।

यसका लागि कार्यालयले अभिमुखीकरण, अन्तरक्रिया, छलफल, गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, ती प्रयास अझै पर्याप्त नभएको उहाँको भनाइ छ ।

कार्यालयले गत वर्ष पोखरास्थित कार्यालयमा आएका ९ हजार २ सय ६० योगदानकर्तालाई प्रत्यक्ष सेवा तथा सहजीकरण प्रदान गरेको छ ।

साथै टेलिफोन र एसएमएसमार्फत ६ हजार ८ सय ४० जनालाई सामाजिक सुरक्षा कोषका सेवासुविधाबारे जानकारी गराइएको जनाएको छ ।

प्रमुख पराजुलीले साँघुरो कार्यालय, जनशक्तिको अभाव तथा सीमित स्रोतसाधनका कारण अपेक्षाअनुसार सेवा प्रवाह गर्न कठिनाइ भएको बताउनुभयो ।

“हामी उपलब्ध स्रोतसाधनबाट सकेसम्म गुणस्तरीय सेवा दिन प्रयासरत छौँ ।”-उहाँले भन्नुभयो-“सेवा थप प्रभावकारी बनाउन थप जनशक्ति तथा इन्टर्नको मागसमेत केन्द्रमा पठाएका छौँ ।”

Author

Share the News

Recent News

Related News