मानव आवाज

२०८३ श्रावण १३ गते
00: 00: 00
२०८३ श्रावण १३ गते

सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रशासनको पूर्वस्वीकृति अनिवार्य !

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा कुनै पनि प्रकारका सभा, र्‍याली, जुलुस, प्रदर्शन वा अन्य कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा स्थानीय प्रशासनबाट पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा २०८३ साउन १३ गते जारी सूचनामा पूर्वस्वीकृतिबिना सार्वजनिक कार्यक्रम सञ्चालन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।

सूचनाअनुसार पछिल्लो समय राजनीतिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा सडक, बजारलगायत सार्वजनिक स्थलमा प्रशासनको अनुमति नलिई कार्यक्रम आयोजना गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यस्तै, स्वीकृति नपाए पनि स्वीकृति प्राप्त भएको भन्दै भ्रमपूर्ण सूचना फैलाउने, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि गर्ने तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको पनि सूचनामा उल्लेख छ ।

प्रशासनले संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण भेला हुने नागरिकको अधिकारको सम्मान गर्दै कास्की जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, र्‍याली तथा राजनीतिक वा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि अनिवार्य रूपमा स्थानीय प्रशासनको स्वीकृति लिन सबैलाई अनुरोध गरेको छ ।

Author

Share the News

Recent News

Related News