मानव आवाज

२०८३ श्रावण १२ गते
00: 00: 00
२०८३ श्रावण १२ गते

पोखराको ‘फ्रेस जुस सेन्टर’लाई ५० हजार रुपियाँ जरिबाना, अखाद्य फलफूल नष्ट

पोखरा । पोखरा महानगरपालिका-६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई उपभोक्ता स्वास्थ्यमा लापरवाही गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले २०८३ साउन १२ गते ५० हजार रुपियाँ जरिबाना गरेको छ ।

जुस सेवन गरेपछि उपभोक्ता बिरामी परेको गुनासोका आधारमा गरिएको अनुगमनका क्रममा पसलमा विभिन्न कैफियत भेटिएपछि उक्त कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चिताङ्गत बरालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पसलमा पर्याप्त सरसफाइ नभएको, पेसा तथा व्यवसायसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नसकेको तथा प्रयोग गर्न नमिल्ने सडेगलेका स्याउ, केरा, मौसम, आँप, अनार र मेवासहित करिब १२ केजी (बजार मूल्य रु. ३,७४० बराबर) फलफूल फेला परेको थियो । ती अखाद्य फलफूल संयुक्त टोलीले स्थलमै नष्ट गरेको जनाएको छ ।

अनुगमनपछि सम्बन्धित व्यवसायीलाई जुस बनाउन प्रयोग हुने सामग्री तथा पसलको नियमित सरसफाइ गर्न, पेसा/व्यवसाय र नापतौलसम्बन्धी दर्ता तथा नवीकरण गर्न, व्यवसायसम्बन्धी कागजात सबैले देख्ने स्थानमा राख्न, प्रयोग गर्न नमिल्ने फलफूल छुट्टै राखी सुरक्षित रूपमा नष्ट गर्न, अखाद्य रङ वा फ्लेवर प्रयोग नगर्न तथा ग्राहकलाई सेवा प्रदान गरेपछि अनिवार्य रूपमा बिल उपलब्ध गराई खरिदबिक्रीका बिलहरू सुरक्षित राख्न निर्देशन दिइएको छ ।

Author

Share the News

Recent News

Related News